पुर्व युवराज पारसलाई बचाउने डाक्टर भन्छन्- हृदयाघातबाट बच्न यी कुरामा ध्यान दिनोस्

काठमाडौं । गतसाता पूर्वयुवराज पारस शाहलाई गम्भीर प्रकृतिको हृदयाघात भयो । तेस्रो पटकको हृदयाघातका कारण पारसको मुटुमा गम्भीर समस्या भएपछि उनलाई थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल पुर्‍याइयो ।

यसअघि नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि हृदयाघात भएको थियो । त्यस्तै, नेपालका पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको मृत्यु पनि हृदयाघातकै कारण भएको थियो ।

सामान्यतया, एकपटक हृदयाघात भएको व्यक्तिलाई बारम्बार हृदयाघात भएमा उसको बच्ने सम्भावना निकै न्यून हुन्छ । पारसको हकमा उनलाई ०६३ साल र ०७२ सालमा गरी दुई पटक हृदयाघात भएका कारण चिकित्सकहरुले उनको बाँच्ने आशा मारिसकेका थिए । त्यस्तो अवस्था प्रा.डा.यादव भट्ट पारसका लागि भगवान बनेर आए ।

डा. भट्टकै नेतृत्वको चिकित्सकको टिमले पारस शाहको मुटुको एञ्जियोप्लाष्टी गर्नुका साथै मुटुमा स्टण्ट राखेका थिए । उनको कार्यकौशलताकै कारण पारस शाहले एकपटक फेरि पुनर्जीवन पाए ।

को हुन् डा. यादव भट्ट ?

सुदूरपश्चिमको बैतडी स्थायी घर भएका डा. यादव भट्टको जन्म काठमाडौंमा भएको हो । उनले काठमाडौंको बूढानिलकण्ठ स्कूलबाट एसएलसीसम्मको अध्ययन गरेका छन् । लैनचौरस्थित अस्कल क्याम्पसबाट आईएससी तहको अध्ययन गरेका उनले त्यसभन्दा माथिको अध्ययन भारतबाट पूरा गरेका हुन् ।

भट्टले दक्षिण भारतको मधुराईमा अवस्थित कामराज विश्वविद्यायलबाट एमबीबीएस तहको अध्ययन पूरा गरेका छन् भने भारतको चण्डीगढस्थित पोस्ट ग्रेजुएशन इन्स्टिच्यूट अफ मेडिकल एजुकेशन एण्ड रिसर्च सेन्टरबाट उनले एमडी तथा डिएम (डाक्टर इन मेडिसिन) तहको अध्ययन पूरा गरेका छन् । उनले भारतकै सरकारी अस्पतालबाट डिएनपी बोर्ड इन्टरभेन्सन कार्डियोलोजीमा नेशनल बोर्ड फेलो गरेका छन् । कार्डियोलोजी सम्बन्धी अध्ययनमै झण्डै बीस वर्ष विताएका उनले सन् २००४बाट नेपालमा सेवा सुरु गरेका हुन् ।

नेपालमा एञ्जियोप्लाष्टी भित्र्याउने डाक्टर

सरकारी स्तरमा एञ्जियोप्लाष्टी सेवा सुरु गर्ने डा. यादव भट्ट नेपालका पहिलो चिकित्सक हुन् । उनले सन् २००४ को सेप्टेम्बरबाट बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रबाट मुटुको एञ्जियोप्लाष्टी सेवा सुरु गरेका हुन् ।

त्यसबेला नेपालमा मुटु रोगको उपचारको क्षेत्रमा खासै विकास भएको थिएन । शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रबाट भर्खरै खुलेको थियो । तर, भौतिक पूर्वाधारहरुको विकाससमेत राम्ररी भएको थिएन । धेरैजसो उपचार पनि मुटु चिरेर मात्रै हुन्थ्यो ।

‘त्यो अवस्थामा विना चिरफार मुटुको अवरोध हटाएर विरामीलाई निको पार्नु कम चुनौतीपूर्ण थिएन’, डा. यादव भट्टले भने, ‘कतिपयलाई बुझाउनै समस्या पर्थ्र्यो । ‘कतिपय चाहिँ ‘मर्ता क्यान कर्ता ?’ भन्दै उनीसित उपचार गराउन पुग्थे । त्यसरी बाध्य भएर उपचार गर्नेहरुले समेत उनीबाट सही उपचार पाउन थालेपछि डा. यादव भट्टप्रति मानिसहरुको विश्वास बढ्दै गयो ।

यही विश्वासका कारण आज डा. यादव भट्ट उच्च पदस्त व्यक्तिहरुको रोजाईमा समेत पर्ने गरेका छन् ।

‘उपचारका क्रममा कति विरामीलाई बचाउन सकियो/सकिएन त्यो एउटा कुरा हो । तर त्यसमध्य धेरैलाई सहयोग गर्न सकिएकै कारण आज म यो स्थानमा आइपुगेको छु जस्तो लाग्छ । यसमा म सन्तुष्ट पनि छ’, उनी भन्छन् ।

विशेष गरी, आफूले काम सुरु गरेको १५/१६ वर्षको अवधिमै एञ्जियोप्लाष्टीको विकासमा नेपालले ठूलै फड्को मारेको उनको कथन छ ।

नेपालमा हृदयाघातको अवस्था

नेपालमा हृदयाघातको अवस्था जटिल बन्दै गएको छ । विशेष गरी धुमपान गर्ने मानिसहरुमा हृदयाघात हुने सम्भावना उच्च रहेको छ । त्यस्तै, पारिवारिक इतिहास, उच्च कोलेस्ट्रोल, मधुमेह, उच्च रक्तचाप, तथा अस्वस्थकर जीवनशैली जीउनेहरुमा पनि हृदयाघात हुने सम्भावना उच्च हुने गर्छ ।

जस्तै कि परिवारमा कसैलाई हृदयाघात भएको छ भने उसलाई हृदयाघात हुने जोखिम उच्च हुन्छ । त्यस्तै, कसैलाई उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह छ वा उक्त व्यक्ति अत्याधिक मात्रामा धुमपान गर्छ र अस्वस्थ जीवनशैली बाँच्छ भने पनि त्यस्ता व्यक्तिलाई हृदयाघात हुने सम्भावना उच्च हुन्छ । र, यसलाई नियन्त्रणमा राख्न सकियो र नियमित एक्सरसाइज गर्न सकियो भनेपनि हृदयाघातको जोखिमलाई कम गर्न सकिने डा. यादव भट्टको तर्क छ ।

उनी भन्छन्, ‘यसको जोखिमलाई कम गर्ने वा यसबाट बच्न दुईवटा कुरामा विशेष ध्यान दिनुपर्छ ।’

यदि परिवारमा कसैलाई हृदयाघात भएको छ ,उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, मधुमेह छ वा धुमपान गर्छ भने यसलाई नियन्त्रणमा राखेर तथा आˆनो बानी तथा व्यवहार परिवर्तन गरेर यसको जोखिम कम गर्न सकिन्छ ।

यदि परिवारमै कसैलाई हृदयाघात भएको छ र उक्त व्यक्ति पुरुष छ भने उक्त जोखिम कारकलाई चाहेर पनि परिवर्तन गर्न सकिँदैन । यस्तो अवस्थामा परिवर्तन गर्न सकिने तथा नियन्त्रण गर्न सकिने समस्याहरुलाई सम्बोधन गरेर मात्र पनि यसको जोखिमलाई कम गर्न सकिने उनको तर्क छ ।

त्यसबाहेक, खानामा ध्यान दिएर, तौल नियन्त्रण गरेर, सातामा कम्तीमा तीन पटक ३० देखि ४० मिनेट उमेर अनुसारको नियमित एक्सरसाइज गरेर पनि यो समस्याबाट बच्न सकिन्छ ।

हृदयाघात पहिचान गर्ने तरिका

प्रा.डा. यादव भट्टका अनुसार हृदयाघात दुई किसिमका हुन्छन्, क्लासिकल र नन क्लासिकल ।

क्लासिकल प्रकारको हृदयाघात भएमा छातीको बीच भाग दुख्ने, छाती भारी हुने, उक्त भारीपन काँध हुँदै हाततिर सर्ने, चिउँडो दुख्ने, पसिना आउने, वान्ता हुने गर्छ । मुटुमा अवरोध भएमा वा व्लकेज भएमा यस्ता लक्षण देखिने गर्छ । जबकी, हृदयाघात भएमा धेरै कम मानिसहरु मात्र बेहोश हुने गर्छन् ।

नन-क्लासिकल हृदयाघात भएमा असामान्य किसिमको ग्याष्टिक महसुस हुने, असामान्य किसिमले चक्कर लाग्ने, सास फेर्न गाह्रो हुने, बेहोस हुन्छु की जस्तो हुने, भर्‍याङ्ग चढ्दा अचानक गाह्रो हुने गर्छ ।

यस्ता लक्षण देखिएमा नजिकैको अस्पतालमा गएर सामान्य इसिजी तथा इको गर्नु पर्छ । कहिलेकाहीँ हृदयाघातको लक्षण साधारण इसीजीबाट प्राप्त नहुन सक्छ । त्यस्तो अवस्थालाई मध्यनजर गरेर माथि उल्लेखित विभिन्न लक्षणमध्ये कुनै लक्षण देखिएमा विना ढिलासुस्ती चिकित्सकसित परामर्श गर्नुपर्ने उनको तर्क छ ।

जोखिममा धुमपानकर्ता

प्रा. डा. यादव भट्टका अनुसार विकसित मुलुकमा हृदयाघातको उच्च जोखिममा वृद्धवृद्धा रहने गरेका छन् । नेपालमा भने युवापुस्तामा यसको जोखिम बढ्दो क्रममा देखिन्छ ।

अस्पतालको सहज पहुँच, रोगको पहिचान, बदलिँदो जीवनशैली, गलत खानपान तथा धुमपानको अत्यधिक सेवनका कारण पनि युवापुस्ताहरुमा हृदयाघातको जोखिम धेरै हुने गरेको डा. भट्टको कथन छ ।

उनी भन्छन्,’ अहिले धुमपान नगर्ने युवाहरु कमै देख्न पाइन्छ । युवाहरुमा पनि धुमपान गर्ने महिलाको संख्या दिनानुदिन बढ्दो क्रममा छ । र, धुमपानकै कारण पुरुषहरुमा देखिने हृदयाघातको समस्या अहिले कम उमेरका महिलाहरुमा पनि देखिन थालेको छ । मेरै कतिपय विरामीहरु ३० वर्ष भन्दा कम उमेरका छन् ।

जब कि हृदयाघात हुनुमा धुमपान नै प्रमुख कारण रहेको विभिन्न तथ्यांकहरुले समेत देखाएको छ । ‘त्यसैले, भविष्यमा हृदयाघातको जोखिम कम गर्न पनि धुमपान रोक्नै पर्छ’ ।

हृदयाघात र एञ्जियोप्लाष्टी

हृदयाघात भएको व्यक्तिलाई सकेसम्म छिटो अस्पताल लैजानु पर्छ । हृदयाघात भएमा मुटुको मांसपेसी तथा मुटु विग्रने गर्छ ।

नर्भिक अन्तराष्ट्रिय अस्पतालमा हृदयाघातको उपचारका लागि चिकित्सकहरुको एउटा टिम नै गठन गरिएको छ । हृदयाघातको बिरामी अस्पताल पुगेको आधा घण्टा भित्रमै उक्त टिमले ५२ मिनेट भित्रमै विरामीको एजियोप्लाष्टी गर्छ ।

अन्तराष्ट्रिय मापदण्ड अनुसार हृदयाघात भएको विरामीलाई अस्पताल पुगेको ९० मिनेट वा सो भन्दा कम ६० मिनेट भित्रमै एञ्जियोप्लाटी (नशा खोल्ने समस्या भएमा) गरिसक्नु पर्दछ । नशा नखोलिकन उपचार गर्नु परेमा (रगत पातलो बनाई)हृदयाघात भएको एक घण्टासम्ममा उपचार गर्न सकिन्छ । अस्पतालको तथ्याक अनुसार नर्भिक अस्पतालमा उक्त टिमले ५२ मिनेट भित्रमै एञ्जियोप्लाटी गर्दछ ।

यसमा समस्या कहाँ आउँछ भने विरामी पक्षलाई एञ्जियोप्लाष्टीबारे थाहा नहुँदा निर्णय लिनमा ढिलाई गर्छन् । जबकी कुनै पनि अस्पताल आउने कुनै पनि हृदयाघातका विरामीको इसिजी दश मिनेटभित्रमा गरिसक्नुपर्छ । जबकि यहाँ अस्पताल आउने बिरामीको तीन मिनेटभित्रमै इसिजी हुने गर्छ ।

हामीका अरु कुरालाई लिएर कुनै समस्या छैन । तर विरामी क्षणले निर्णय लिने विषयमा फितलो हुने गर्छ । यसको मुख्य कारण भनेको जनचेतनाकै कमी हो । मानिसहरुमा यसबारे चेतना फैलिएमा मात्र पनि विरामीहरुले छिटो उपचार पाउने उनको कथन छ ।

उनी भन्छन्, ‘जहाँसम्म पारस शाहको कुरा छ, उनीहरुलाई यसबारे सबै जानकारी थियो । जसले गर्दा ढिलाइ हुन पाएन । र, सही समयमै उपचार भएकै कारण उनलाई बचाउन सकियो’ ।

यस अर्थमा तीनपटक हृदयाघात हुँदैमा मान्छे बाँच्दैन भन्ने हुँदैन । कतिपयको सुरुवाती चरणमै मृत्यु हुने गर्छ । कतिपयको पटक पटक हृदयाघातका बाबजुद ज्यान बच्ने गर्छ ।

‘जति धेरै हृदयाघात भयो, मुटुको मांसपेशी उति खराब हुँदै जाने, मुटु कमजोर हुने भएकाले यसमा केही हदसम्म सत्यता त छ । तर, तीनचोटि हृदयाघात हुँदैमा मान्छे नबाँच्ने भन्ने हुँदैन’।

विशेष गरी, एञ्जियोप्लाष्टी प्रविधिको विकाससँगै सही समयमा सही निर्णय लिन सके हृदयाघातका कारण मुटुमा पर्ने जोखिमलाई कम गर्न सकिने उनको कथन छ ।

डा. यादव भट्टको जीवनशैली

एञ्जियोप्लाष्टी प्रविधिद्वारा लाखौ मानिसको उपचार गर्दै आएका डा. यादव भट्ट आफू भने कस्तो जीवनशैली अपनाउँछन् त ?

यसबारे राखेको जिज्ञासामा डा. यादव भट्टले भने, सामान्यतया मेरो जीवनशैली सोचेजस्तो राम्रो त छैन । तर, पनि बिहान अस्पताल आएर राउण्ड लिएपछि कुर्सीमा बस्छु । तर, त्यसबीच पनि केही केही एक्सरसाइज गर्ने कोशिश गर्छु ।’

दैनिक एक-डेढ घण्टा जीम जाने डाक्टर भट्ट खानपानलाई लिएर विशेष सजगता अपनाउने गर्छन् । उनी धुमपान गर्दैनन् । र, नुन, तथा चिल्लो सकेसम्म कम गर्नुका साथै तौल बढ्न दिँदैनन् ।