विश्वच्याम्पियनलाई हराएका ७३ वर्षे बक्सरको विजोग, बिग्रेको गाडी नै उनको घर

एजेन्सी। कुनै बेलाका हेभिवेट बक्सर रुडी लबर्सले ४५ वर्षअघि जकार्तामा भएको खेलमा मोहम्मद अलीलाई बलियो किक हान्दै बक्सिङ च्याम्पियन उचालेका थिए ।

उनै सफल बक्सरलाई अहिले आफ्नै जीन्दगीले झन ठूलो किक हिर्कायो । ७३ वर्षे यी खेलाडी अचेल गरिबीको चपेटामा वृद्धावस्था एक्लै यापन गरिरहेका छन् । उनको गरिबीको साक्षी उनकै जीवनसाथी रिया भने छिन्, ।

पछिल्लो दुई महिनायता बुल्गेरियामा एउटा थोत्रो गाडीमा दैनिक उपभोग्य सामान सहित कुकुरलाई साथै लिएर बसिरहेका उनको गरिबी पत्याउनै मुस्किल छ । पछिल्लो आइतबार नेदरल्यान्डको एक टेलिभिजनले उनको जीवनकथामा आधारित डकुमेन्ट्री प्रशारण गरेपछि भने केही सहायता मिलेको छ । उक्त भिडियो कथामा भनिए अनुसार यी बृद्ध खेलाडी अत्याधिक चिसोका बीच बिग्रिएको पुरानो गाडीमै सुत्छन् । जहाँ उनलाई बिजुली, खानेपानी र सरसफाइका अन्य सुविधाको अभाव छ ।

रियाको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई गत शुक्रबार गम्भीर अवस्थामा अस्पताल लगिएको थियो । लबर्सका अनुसार रियाको स्वास्थ्य अहिले बिस्तारै सुधार हुँदै छ । केही दिनमा उनी तंग्रिने विश्वासमा छन् लबर्स ।

‘अहिलेका लागि सबैभन्दा महत्वपूर्ण कुरा मेरी प्रेमिकाको स्वास्थ्यमा सुधार भयो । र उनी अब फेरि कुकुर हेर्न सक्नेछिन्,’ लबर्सले रियुटर्सलाई भने । लबर्सले सन् १९६४ र १९६८ मा भएका ओलम्पिक गेममा नेदरल्यान्डको प्रतिनिधित्व गर्दै विश्व च्याम्पियन अलीसँग खेलेका थिए । त्यसबेला उनले १ लाख २५ हजार डलर रकम समेत पाएका थिए ।

‘मैले खेलबाट धेरै सिकेँ, त्यही सिकाइले बाँच्न सिकायो,’ उनले भने । लबर्स र रियालाई चिसोबाट बच्न र खानका लागि स्थानीयले खाना र लत्ताकपडा दिएका छन् । कुनै बेलाका आफ्नै देशका बक्सिङ हिरोको यस्तो हालत देख्दा अधिकांश डच नागरिक अचम्भित बनेको यहाँका मिडिया उल्लेख गर्छन् । अहिले उनको जीवन सहजताका लागि केही रकम समेत संकलन भएको छ ।

मिडियाका अनुसार रुडीका छोरा मार्को पनि दुई वर्षयता उनको सम्पर्कमा छैनन् । रुडी केही वर्षयता आफ्नी प्रेमिकासँगै एक पार्कमा श्रम गर्दैआएका थिए । तर सन् १९९९ मा रियाले बैंक लुटेको पुष्टि भएपछि भने उनीहरु घरबार विहिन बनेका हुन् । बुल्गेरिया आउनुअघि उनीहरु लेबनन, मोरक्को, ईजिप्ट, यूएई र पोर्चुगलमा बस्दैआएका थिए ।