धुर्मुस-सुन्तलीले बनाउने रंगशाला बनोस् भन्ने हाम्रो पनि चाहना हो- कप्तान पारस खड्का

काठमाडौ। युएईविरूद्धको टी ट्वान्टी र एक दिवसीय सिरिज जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ। खेलकुद मन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव सयौंको संख्यामा आएका खेल समर्थकले रातो कार्पेट ओछ्याएर स्वागत गरेका छन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले चितवनमा बनाउन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्नु समग्र नेपाली क्रिकेटका लागि राम्रो भएको बताएका छन्।

‘रंगशाला बनोस् भन्ने हाम्रो चाहना हो, यो नेपाली खेलकुदका लागि राम्रो हुन्छ,’ खड्काले भने। उनले सबै खेलाडीको सामूहिक प्रदर्शनले यो सफलता सम्भव भएको बताए। उनले अब केही समयपछि आइसीसीका प्रतिनिधि नेपाल आएर त्रिवि क्रिकेट मैदानको अवलोकन गर्ने भन्दै नेपालमै पनि ओडिआइ हुनसक्ने बताएका छन्।

‘आइसीसीका प्रतिनिधिहरू केही दिनपछि नेपाल आउनेछन् र हाम्रो मैदानको अवलोकन गर्नेछन्। यदि उनीहरूले यहाँ एक दिवसीय खेल खेलाउन सकिन्छ भन्ने सुझाव दिए नेपालमै केही ओडिआइ खेलहरू हुन्छन्,’ खड्काले भने।