शौचालयसहितको एक सय यात्रु बोक्ने पानीजहाज नेपाली नदीमा आईपुग्यो

काठमाडौ।गत मंसिर २० मा प्रधानमन्त्री केपी ओलीले भेडेटार–राँके सडकको शिलान्यास गर्नेक्रममा सप्तकोसी नदीमा चाँडै पानीजहाज आउने घोषणा गरेका थिए । प्रधानमन्त्रीले सप्तकोसीमा जहाजको कार्यालय नै खोलेर काम सुरु हुने बताएलगत्तै सुविधायुक्त नयाँ पानीजहाज ल्याइयो । हालै बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीमा पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको छ ।

कोसी ब्यारेजदेखि–कोलकातासम्म पानीजहाज चलाउने तयारीका लागि नेपालले भारत सरकारसँग छलफल गरिरहेको छ । तर, कोसी नदीमा विभिन्न कम्पनीले धमाधम मिनी पानीजहाज ल्याएर यातायात सेवा सञ्चालन गरिरहेका छन् । जल यातायातका लागि अहिले सप्तकोसीको चतरा उत्तम गन्तव्य बनेको छ । नयाँ पत्रिकामा खबर छ ।

शौचालयसहितको एक सय यात्रु बोक्ने जहाज
शौचालयसहितको अत्याधुनिक सुविधासहितको एक सय यात्रु बोक्ने जहाज सप्तकोसी आइपुगेको छ । सिसा भएको सिटमा पानीसमेत पस्दैन । बराह क्षेत्र मरिन एन्ड रिसोर्टस् प्रालिले जहाज ल्याएको हो । एउटा सय सिटे र अर्को २५ सिटे क्षमताका दुईवटा जहाजले सेवा दिन थालेका छन् । जहाज ल्याउन कम्पनीलाई बराह क्षेत्र नगरपालिकाले पनि सहयोग गरेको छ ।

कम्पनीले अब थप चारवटा जहाज पनि ल्याउने भएको छ । उच्च पहाडी क्षेत्रसम्मको सेवाका लागि १० सिटे दुईवटा जहाज ल्याउने प्रक्रियामा रहेको मरिन एन्ड रिसोर्टस् प्रालिका सञ्चालक नवीन पौडेलले जानकारी दिए । करिब आठ करोड १२ लाख रुपैयाँमा जहाज ल्याइएको उनको भनाइ छ । यसको पोर्ट चतरामा निर्धारण गरिएको छ ।