राजनीतिमा नयाँ तरंग, प्रधानमन्त्रीबाहेक सबै मन्त्री फेरिने वामदेवको खुलासा

काठमाडौं । सत्तारुढ नेकपाका नेता वामदेव गौतमले प्रधानमन्त्रीबाहेक अरु सबै मन्त्री फेरिने खुलासा गरेपछि राजनीतिमा तरंग पैदा गरेको छ । नेकपाका प्रस्तावित उपाध्यक्ष तथा सचिवालय सदस्यसमेत रहेका नेता गौतमले सबै मन्त्रीहरु एकैपटक फेरिन लागिएको बचाएपछि राजनीतिमा तरंग ल्याएको हो । कान्तिपुर टेलिभिजनसँग कुरा गर्दै नेता गौतमले मन्त्रिपरिषद पुनर्गठन भनेकै सबै मन्त्रीहरुलाई हटाएर नयाँ बनाउने रहेको बताए । प्रधानमन्त्री ओलीले आफ्ना सल्लाहकार र सचिवालय सदस्यलाई सामूहिक राजीनामा दिन भनिएका बेला मन्त्रिपरिषद् पुनर्गठनको कुरा उठेको हो ।

यसबारे जिज्ञासा राख्दा प्रधानमन्त्री ओलीले पनि सबै मन्त्री हटाएर नयाँ मन्त्री नियुक्त गर्न लागेको जानकारी दिएका नेता गौतमको भनाइ छ । कान्तिपुरसँग नेता गौतमले भनेका छन्, ‘मैले प्रधानमन्त्रीलाई सोधेको थिएँ, के मन्त्रिपरिषद पुनर्गठन गर्न लाग्नुभएको हो ? उहाँले अब गर्ने बेला आएको बताउनुभयो, उहाँले पूर्नगठन गर्नुहुन्छ ।’पुनर्गठन भन्ने बित्तिकै मन्त्रीको राजीनामा नमागिने र अहिले रहेका प्रधानमन्त्री बाहेक सबै मन्त्री नरहने र नयाँ मन्त्रीहरु नियुक्ति हुने नेता गौतमको भनाइ छ ।

बंगलादेशका राष्ट्रपतिको स्वदेश फिर्तीलगत्तै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ । पुनर्गठित मन्त्रिपरिषदको स्वरूप कस्तो होला ? यसबारे अनेकन कोणबाट चर्चा चल्न थालेको छ ।स्रोतका अनुसार यदि ओली लामो समय अमेरिकामा बसेर उपचार गराउनुपरेमा नेकपाका उपाध्यक्ष वामदेव गौतम वा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई वरिष्ठ उपप्रधानमन्त्री बनाइने विषयमा आन्तरिक छलफल चलेको छ ।

गौतम र श्रेष्ठलाई राष्ट्रिय सभामा ल्याएर उपप्रधानमन्त्री बनाइने र कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने विषयमा छलफल चलेको नेकपाका नेताहरू बताउँछन् । वामदेव वा नारायणकाजीलाई राष्ट्रिय सभामा लगेर गृह र परराष्ट्र मामिला हेर्ने गरी वरिष्ठ उपप्रधानमन्त्री बनाइने सम्भावना धेरै रहेको बुझिएको छ ।