‘गाडीभित्र पस्नासाथ एक्कासि ‘तँ’ भन्न थाले, एउटाले घाँटीमा झड्याम्म हान्यो-रन्थनिएँ”

काठमाडौँ। गीत गएकै भरमा पक्राउ परेर छुटिसकेका र्‍यापर भिटेन(समीर घिसिङ)को संस्मरण नेपाल साप्ताहिकमा प्रकाशित भएको छ।संस्मरणमा रेकर्डिङको तयारी चल्दै गर्दा पक्राउ परेदेखि जेलबाट छुट्दा सम्मका उनका अनुभवहरु समावेश गरिएको छ। संस्मरणमा उल्लेख गरिए अनुसार उनलाई स्टुडियोमै प्रवेश गरेर पक्राउ गरिएको थियो ।“रेकर्डिङको तयारी चल्दै थियो, मेरो म्यानेजरसँग चार नयाँ मान्छेहरू स्टुडियो भित्र छिरे । म्यानेजरको मुहारमा खुसी थिएन । मैले अपरिचिततिर फर्केर सोधेँ, ‘तपाईंहरू को हो ?’ म्यानेजरले जवाफ दिए, ‘उहाँहरू पुलिस ।’”,संस्मरणमा भिटेन लेख्छन्।

‘सोधपुछ गर्नु छ, हामीसँग हिँड्नुस् ।’ भन्दै प्रहरीले आफूलाई हतार-हतार स्टुडियोबाट लिएर गएको उनको भनाई छ। ज्याकेट लगाउन र अर्को कोठामा रहेका बुबालाई समेत भेट्न नपाएको भिटेनको दुखेसो छ।स्टुडियोबाहिर रोकेको सेतो जिप भित्र प्रवेश गरे लगतै प्रहरीहरुको हाउभाउ र बोल्ने तरिका एक्कासी परिवर्तन भएको भिटेनले स्मरण गरेका छन्। जिप भित्र प्रहरीहरुले अपशब्द समेत प्रयोग गरेको भिटेनको आरोप समेत छ।

“स्टुडियोबाहिर सेतो जिप रोकेको रहेछ । मैले कुनै गल्ती गरेको थिइनँ । त्यसैले त्यतिबेला डर लागेको थिएन । अघिसम्म ‘तपाईं’ भन्दै गरेका उनीहरूले गाडीभित्र पस्नासाथ एक्कासि ‘तँ’ भन्न थाले । बोल्ने शैली पनि रुखो र ठाडो हुन थाल्यो । छाडा शब्द बोल्न थाले । त्यस्तो गीत किन गाएको भनेर हप्काउन थाले । म हिप–हपबारे बुझाउन खोज्दा सुन्नै नचाहेनन्, गाली गरिहाले ।”,उनको संस्मरणमा उल्लेख गरिएको छ।

भिटेनले संस्मरणमा उल्लेख गरेअनुसार जिपमा उनी माथि भौतिक दुर्व्यवहार समेत भएको थियो। एक प्रहरीले कानलाई समेत छुने गरी घाँटीमा झड्याम्म हानेको भिटेनले संस्मरणमा लेखेका छन्।“त्यस्तैमा एउटाले मेरो कानलाई समेत छुने गरी घाँटीमा झड्याम्म हान्यो । म रन्थनिएँ, शरीर तात्यो । मुन्टो निहुर्‍याउनुबाहेक मैले केही गर्न सक्ने थिइनँ । त्यसपछि मैले प्रहरीको ड्रेस लगाएर चुरोट तान्दै गरेको फोटोको कुरा निकाले ।”,भिटेन संस्मरणमा लेख्छन्।

भिटेनले प्रकाशित संस्मरणमा हिरासतमा भोगेका सम्पूर्ण अनुभव समावेश गरेका छन्। जसमा उनले प्रहरी ड्रेस लगाएर खिचिएको तस्विरबारे प्रहरीसँगको सवाल-जवाफ, पक्राउ गरिएको बारे प्रश्न गर्दा प्रहरीबाट दुर्व्यवहार भएको विषय, म्याद थपको लागि जबर्जस्ति हस्ताक्षर गराइएको, जेलमै सडिनुपर्ने संकेत देखेपछि आफ्नो स्वाभिमानको ख्याल नगरी माफी मागेको जस्तै विषयहरु पनि समावेश गरेका छन्।