‘संसार जित्ने योजनामात्र भएर हुँदैन, आत्मविश्वास चाहिन्छ’ – शृंखला

काठमाडौं । नेपाल सुन्दरी शृंखला खतिवडाले शनिवार विहान कलेजका बिद्यार्थीसँग साक्षात्कार गरेकी छिन् । ब्यक्तित्व विकासमा शिक्षाको भूमिका बिषयमा उनले प्रिसिडेन्टियल बिजनेश कलेजमा अन्तक्रिया गरेका छिन् ।

नेपाल सुन्दरी हुँदै विश्व सुन्दरी प्रतियोगितामा दुई अवार्ड जितेकी शृंखलाले कसरी आत्मविश्वासी बन्ने भन्ने बिषयमा आफ्नो धारणा राखेकी थिइन । बिद्यार्थीहरुसँग उनले आफ्नो बाल्यकालदेखि विश्व सुन्दरी प्रतियोगितासम्मको अनुभव सुनाएकी थिइन । आत्म विश्वासी भएकै कारण आफु केही हदसम्म सफल भएको बताइन ।

कलेजका बिद्यार्थीले उनलाई दर्जनौ प्रश्नहरु गरेका थिए । तर उनले सवैका जवाफ सुन्दर तरिकाबाट मात्र दिइनन्, आत्मविश्वासी बन्ने केही टिप्सहरु पनि दिइन । ‘संसार जित्ने योजनामात्र भएर हुँदैन, आत्मविश्वास चाहिन्छ’, उनले भनिन् । विद्यार्थीलाई आफ्नो भावी योजना बनाउँदा आत्मविश्वासी बन्न आग्रह गरिन ।

विश्व सुन्दरी प्रतियोगितामा आफुले सवैभन्दा ठुलो कुरा आत्मविश्वासी बन्न सिकेको बताइन । ‘मैले जितेका अवार्डले केही समयमात्र चर्चा पाउँछन् तर ममाथी पैदा भएको आत्मविश्वास जीवनभर रहन्छ’, उनले भनिन् ।

बीबीएका विद्याथीहरुलाई जीवनको यात्रामा शिक्षाले कस्तो भूमिका खेल्छ भन्ने बिषयमा उनले लामो चर्चा गरेकी थिइन । कडा मेहेनत र दृढतपूर्वक लगनले मात्र आफ्नो सपना पुरा हुने बताइन । ‘तपाईहरु पनि दृढतापूर्वक मेहेनत गर्नुहोस, तपाईको सपना अबश्य पुरा हुन्छ, असम्भव भन्ने यो दुनियाँमा केही छैन ।’