प्रधानमन्त्रीको नयाँ रणनीति, ज्ञवाली प्रमुख सल्लाहकार, रिमाल अमेरिकाको राजदूत

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नयाँ ढंगले चल्ने स्पष्ट संकेत गरेका छन् । निजी सचिवालयका सदस्यसँग सामूहिक राजीनामा मागेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का सबै सदस्यसँग पनि त्यही अपेक्षा गरेका छन् ।

मंसिर १४ गतेको उपनिर्वाचनलाई प्रभावित पार्ने गरी प्रधानमन्त्रीले आफ्नो सरकारलाई विवादमा ल्याउने जति सबै सल्लाहकार (मन्त्रीहरू) लाई बिदा गरेर नयाँ ल्याउने तयारी गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्रीले आफू सच्चिएको प्रमाणका रूपमा सल्लाहकार र मन्त्री फेरेर जनतालाई सन्देश दिन लागेका छन् । वर्तमान सरकार जनतामाझ विवादित र अलोकप्रिय भएकाले पनि त्यसको असर उपनिर्वाचनमा नपरोस् भन्ने उद्देश्यले जनमत नेकपाकै पक्षमा पार्न ओलीले सल्लाहकारलाई सामूहिक राजीनामा दिएर बिदा गर्न लागेको विश्लेषण गर्न थालिएको छ । मन्त्रिपरिषद्को हेरफेर गर्दै बहालवाला मन्त्रीलाई प्रमुख राजनीतिक सल्लाहकार बनाउने र अन्यलाई बिदा गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

अहिलेका प्रमुख सल्लाहकार विष्णु रिमालले गलत सल्लाह दिएको, कर्मचारीलाई गलत निर्देशन दिएको तथा प्रधानमन्त्री नभएका बेला मन्त्रीहरुलाई समेत गलत ढंगले प्रयोग गर्न खोजेको भन्दै उनलाई हटाउन सबै सल्लाहकारसँग राजीनामा मागिएको थियो । त्यही क्रममा उनले मुख्य सल्लाहकार रिमालमार्फत सचिवालयका सबै सदस्यलाई आफ्नो सहजताका लागि राजीनामा दिन आग्रह गरेका हुन् । ओलीको त्यस्तो आग्रहपछि सचिवालयमा रहेका मुख्य सल्लाहकार रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार डा.कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, आइटी विज्ञ असगर अलिलगायत १३ जनाले सामूहिक रुपमा राजीनामा बुझाइसकेका छन् । तर, बाहिर भने सार्वजनिक गरिएको छैन।

ओलीले सचिवालयका केहीलाई पुनः नयाँ शिराबाट दोहो¥याउने र केहीलाई नयाँ नियुक्ति दिएर पठाउने तयारी गरेका छन् । त्यसमध्ये प्रमुख राजनीतिक सल्लाहकार रिमाललाई अमेरिकाको राजदूत बनाउने तयारीमा प्रधानमन्त्री ओली देखिएका छन् । त्यस्तै, राजन भट्टराईले पनि राजदूतको अपेक्षा राखेको बुझिएको छ ।

अमेरिकाको राजदूत बन्ने इच्छा अहिलेका अर्थमन्त्री डा.युवराज खतिवडाले पनि व्यक्त गरेको बुझिएको छ । उनको दुई वर्षे राष्ट्रिय सभा सदस्यको कार्यकाल यही मंसिरबाट सकिँदैछ । प्रधानमन्त्री ओलीले ६ वर्षका लागि खतिवडालाई पुनः राष्ट्रिय सभा सदस्य बनाउने तयारी गरे पनि उनले नचाहेको स्रोतले बतायो । अमेरिकामा अहिले अर्जुनबहादुर कार्की राजदूत छन् । त्यहाँको राजदुत नियुक्ति प्रधानमन्त्री ओलीले यस अगाडी रोकेर राखेका थिए ।

मन्त्रिपरिषद् हेरफेर गर्दा प्रधानमन्त्री ओलीले हालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रमुख राजनीतिक सल्लाहकार बनाउने र उनको ठाउँमा सुरेन्द्र पाण्डे वा भीम रावललाई जिम्मेवारी दिने तयारी भैरहेको स्रोतको दाबी छ ।