विद्युत खपत बढाउन र आधारभूत नागरिकलाई थप सेवा दिन कुलमानको यस्तो कदम

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल दर परिवर्तन गर्ने तयारी गरेको छ । विद्युत खपत बढाउने र आधारभूत नागरिकलाई थप सेवा दिने लक्ष्यका साथ प्राधिकरणले नयाँ महसुल दर लागू गर्ने तयारी गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत विद्युत खपत बढी गर्न आग्रह गरेका थिए र उनले प्राधिकरण नागरिकलाई राहत दिने गरि अघि बढ्ने बताएका थिए ।

प्राधिकरणको सञ्चालक समितिको निर्णयअनुसार नयाँ महसुल कार्यान्वयनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव गरेको छ । प्राधिकरणको प्रस्ताव अनुसार समायोजन भएको खण्डमा यसले किसानलाई फाइदा पुग्ने छ ।

प्राधिकरणले कृषि क्षेत्रमा सिँचाइको मात्रा बढाउन सस्तो दरमा विद्युत उपलब्ध गराउने तयारी स्वरुप प्रतियुनिट ४ रुपैयाँ ३० पैसामा विद्युत उपलब्ध गराउने तयारी गरेको छ ।

प्राधिकरणले सिँचाइ र खानेपानी बाहेक न्यूनतम विद्युत खपत गर्नेलाई समेत विद्युत खपत बढाउनका लागि एउटा औसत दर तय गर्ने जनाएको छ । प्राधिरकरणको प्रस्ताव अनुसार कूल २० देखि ३० प्रतिशतको हाराहारीमा विद्युत महसुल बढाउने भएको छ ।