‘ढुक्क हुनुस्, लिपुलेक र कालापानी हाम्रै हो’ : मन्त्री बाँस्कोटा

काठमाडौं। नेपाल सरकारले भारतद्वारा अतिक्रमित लिपुलेक, कालापानीसहित भूभाग नेपालकै रहेको बताएको छ ।

मन्त्रिपरिषद्का निणृय सार्वजनिक गर्न बिहीबार सिंहदरबारस्थित सञ्चार तथा सूचना मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले लिपुलेक, कालापानी नेपाली भूमि नै रहेको बताएका हुन् । सो क्षेत्रमा नेपालले जनगणनासमेत गरेको स्मरण गराउँदै उनले कालापानी र लिपुलेक नेपालकै भूमि रहेको दोहोर्याएका हुन् ।

यसअघि बुधबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर सो भूमि नेपालकै रहेको बताएको थियो । लिम्पियाधुरादेखि लिपुलेकसम्मको करिब ३ सय ७२ वर्ग किलोमिटरभन्दा बढी नेपाली भूभाग समेटेको आफ्नो नक्सा भारतले शनिबार सार्वजनिक गरेपछि अहिले नेपालमा व्यापक विरोध भइरहेको छ । यसैबेला सरकारका प्रवक्ता बाँस्कोटाले सो क्षेत्र नेपालकै रहेको बताएका हुन् ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित उक्त पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले युवा रोजगारी प्रवद्र्धनका लागि विश्व बैंकबाट प्रस्ताव भएको १३ अर्ब ६२ करोड बराबरको सहुलियत ऋण सहायता स्वीकार गर्ने सरकारले निर्णय गरेको जानकारी दिए ।