३ वर्षभित्र प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउछौं – वामदेव गौतम

भक्तपुर। भक्तपुरको प्रदेशसभा उपनिर्वाचनका लागि नेकपा उम्मेदवार डिपी ढकालको उम्मेदवारी दर्तापछि आयोजित सभालाई सम्बोधन गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले आगामी ३ वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ५ हजार डलर पुर्‍याउने दावी गरेका छन् । गौतमले प्रतिव्यक्ति आय ३ वर्षभित्र चार गुणा बढाउने महत्वकांक्षी घोषणा गरेका हुन् ।

हाल नेपालीको प्रति व्यक्ति आय वार्षिक १२ सय डलर छ । प्रतिव्यक्ति आय बढाउन उत्पादन क्षेत्रमा धेरै ठूला काम शुरु हुने उनले बताएका छन् । अब प्रत्येक महिना सरकारले नयाँ नयाँ काम गरेर देखाउने भन्दै उनले विकास निर्माणका काम अब परिणाम देखिने गरि शुरु भएको दावी गरेका छन् ।

नेकपा नेता गौतमले प्रमुख विपक्षी नेपाली कांग्रेसले कानुन निर्माणका क्रममा पाइला पाइलामा अवरोध गरेको र विकास तथा समृद्धिको अभियानमा पनि रचनात्मक विपक्षी हुन नसकेको आ*रोप लगाएका छन् । उनले कांग्रेसका क्रियाकलापका कारण ऊ सधैंभरि प्रतिपक्षमै रहने बताएका छन्।

गौतमले भने ‘बाँदरले आफू बस्ने घर बनाउदैन र अरुको पनि भत्काउँछ । कांगेसको चरित्र यसपाली त्यस्तै देखियो । सरकारका हरेक काममा अवरोध गरेको छ । सधैंभरि प्रतिपक्षमा बसिरहने क्रियापकलाप उसका छन् । कांग्रेस रचनात्मक विपक्षी हुन सकेन ।’

गौतमले डिपी ढकाल मृत्यु जितेर आएको व्यक्तिलाई उम्मेदवार बनाइएको भन्दै पार्टीले बिचार गरेरै निर्णय लिएको बताएका छन् । भक्तपुरमा पूर्वएमालेले उनका उम्मेदवारीप्रति अशन्तुष्टि जनाएका बेला गौतमले अब नेकपामा कुनै समस्या नरहेको बताएका छन् ।