कास्कीका कांग्रेस उम्मेदवारको उत्तर, ट्रम्पले जित्छन् भनेर कसले सोच्या थियो र !

काठमाडौं। प्रतिनिधि सभातर्फ उप निर्वाचन हुन लागेको एक मात्र क्षेत्र कास्की– २ मा नेपाली कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । खैंजडी र भजनमण्डलीसहित पोखरास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका पौडेलले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी मनोनयन दर्तापछि पौडेलले आफूले जित्ने दाबी गरे। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रसंग निकाल्दै पौडेलले आफूले जितेर देखाइदिने दाबी गरेका हुन् । अमेरिकामा ट्रम्पले जित्छन् भनेर कसले सोचेको थियो र !’ चुनावमा जितहारबारे प्रश्न सोध्नेलाई उनले भन्ने गरेका छन् ।

सो क्षेत्रमा नेकपाका तर्फबाट विद्या भट्टराईले उम्मेदवारी मनोनयन दर्ता गराइसकेकी छन् । तत्कालीन मन्त्रीसमेत रहेका कास्की– २ का सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्व. रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई नै उम्मेदवार बनाएको छ ।