संसारकै बिहानीको देश फिजीमा भेटियो नेपाली बस्ती !

  • डिल्लीराम अम्माई

फिजी भन्ने देश कसरी बन्यो र बेलायतबाट भारत स्वतन्त्र भइसकेपछि शासकहरूले फिजीको मौलिक पहिचानको विरुद्ध कसरी धावा बोले ? ४० प्रतिशत भारतीयले फिजीका आदिवासीहरूको मूल थलो कसरी कब्जा गरे ? त्योबारे यहाँ बहस गर्न खोजिएको होइन । यहाँ भारतीय ब्रिटिस कम्पनीले सन् १८७९ को मे महिनामा झुक्याएर उखुखेतीमा काम गर्नको लागि फिजी पुऱ्याइएका नेपाली (३६० जना पुरुष र २५० महिला) हरूको अवस्था, उनीहरूको चासो र जानकारीमा आएका तथ्यहरूबारे बहस गर्न खोजिएको हो ।

दक्षिण प्रशान्त महासागरको बीचमा रहेको ३३३ टापुहरूको देश फिजीमा नेपाली मूलका मानिसहरू पनि बसोवास गरेको कुरा हालै प्रकाशमा आएको छ । ९ लाख १९ हजार १९ जनसङ्ख्यामध्ये करिब १२ हजारको सङ्ख्यामा नेपालीहरू ४ पुस्तादेखि फिजीमा बसोवास गरिरहेको तथ्यलाई बाहिर ल्याउने अस्ट्रेलियन युनिभर्सिटीका प्राध्यापक तथा वल्र्ड पिस काउन्सिलका दूत राजन शर्माप्रति जति आभार व्यक्त गरे पनि थोरै हुन्छ । उनले फिजीमा बसोवास गर्ने नेपालीको भोगाइबारे धेरै तथ्यहरू बाहिर ल्याइदिएका छन् ।

त्यहाँ बसोवास गर्ने नेपालीले अहिलेसम्म आफ्नो पहिचान पाएका छैनन् । इतिहासको त्यो औपनिवेशिक कालखण्डमा घोलिएको विषले उनीहरूको भाषा र वेशभूषा मात्र खाएन नेपाली पहिचान नै खान पुग्यो । फिजी पुऱ्याइएको नेपालीको पहिलो पुस्ताले आफ्नो मातृभूमिलाई सम्झेर बेलायती कारिन्दाको रूपमा काम गर्नुबाहेक नेपाल जीवनकालमा कहिल्यै फर्कन पाएनन् । त्यो पुस्ताले नेपाली कामदारबारे तात्कालिक नेपाल सरकारसँग कुनै सम्झौता नभएकोले बलजफ्त भिराइदिएको भारतीय मूलको परिचय बोकेर फिजीमा आफ्नो इहलीला समाप्त गरे । अर्को पुस्ताले पनि नेपालसँग जोडिने विश्वासिलो आधार पाएन । आफ्नो मातृभूमिलाई सम्झना र पीडाका आँसु समर्पित गर्दै सेरोगेट आमाको काखमा उनीहरूले जीवन समर्पण गरे ।

त्यसपछिको पुस्ताले आफ्नो बुबाले भनेका नेपालका कथाहरू सुने, तर राज्यबाट अपहेलित हुने भयले नेपाली भाषा र भूषालाई कायम राख्न सकेनन् । पुरानो पुस्ताको नेपालसँगको आत्मिक श्रद्धा पनि समयक्रममा कमजोर हुँदै गयो । नेपाल, आमा, बुबा, दिदीबहिनी, भात, टोपी, हिमाल, पशुपति, बुद्धजस्ता केही शब्दमा मात्रै उनीहरूको नेपाली भाषिक ज्ञान खुम्चिइसकेको देखिन्छ । त्यो उनीहरूले चाहेर भएको होइन । नेपालीको परिचय लुकाएर बेलायतीहरूले फिजी पुऱ्याएका थिए । उनीहरूलाई कलकत्ता बन्दरगाहबाट भूदास ग्रिबिटियाको रूपमा झुक्याएर त्यहाँ लगिएको थियो ।

जानकारीमा आएअनुसार उनीहरूले अझै पनि त्यहाँ नेपाली चाडपर्व, सामाजिक संस्कार र परम्परालाई नेपाली शैलीमा धानेका छन् । अघिल्लो पुस्ताको नेपालसँग जोडिने चाहना अझै पनि तीव्र छ । यदि उनीहरूले नेपालमा सम्पत्तिको अधिकारलाई कानुनी आधार दिने हो भने नेपालमा आफ्नो घर बनाएर आफ्नै वंशको रगत दिने आमाको काखमा मर्न चाहन्छन् । फिजीको राजधानी ‘शुभ’देखि १७० किलोमिटर पूर्व रहेको सिगाकोटा र काभानान्गासाउमा आफ्नै आराध्य देव पशुपतिनाथको मन्दिर बनाएका छन् । त्यहाँका नेपाली महेशदत्त शर्मा, सुधीर शर्मा, प्रवीणदेव घर्ती, विक्रम सिंह (१०० वर्ष), मान सिंह (८९ वर्ष) हरूको अझै पनि नेपाली बनेर मर्ने धोको छ । त्यहाँ राई, लिम्बू, शेर्पा, सापकोटालगायत थर भएका नेपाली पनि रहेको प्राध्यापक राजन शर्माले बताएका छन् । नेपालीको घना बस्ती भएको सिगाटोका र हेलम्बुबाहेक केही नेपाली बस्तीहरू भिटी लेभु, भानुआ लेभु, लाबासालगायतका स्थानमा समेत रहेको राजन शर्माको खोजले देखाउँछ ।

फिजीमा अधिकांश नेपालीको जीवनस्तर उच्च–मध्यमस्तरको रहेको देखिन्छ । मूलत: किसान नै रहेका त्यहाँका नेपालीहरू टापुको विकासको एक हिस्सा बनेर रहेका छन् । फिजीले संसारमा एक विकसित देशको हैसियत बनाइसकेकोले त्यहाँका अधिकांश नेपाली शिक्षित छन् । उनीहरूको मूल समस्या भनेको पहिचानको समस्या हो । किनकि उनीहरू हरतरहले आफ्नो मूल थलो नेपालसँग जोडिन चाहन्छन् । हालसालै उनीहरूले आफूलाई नेपालसँग जोडिन नेपाल–फिजी एसोसिएसन नामक संस्थासमेत वैधानिक रूपमा गठन गरेका छन् ।

इतिहासका तथ्यहरूबाट के पनि शङ्का लाग्दछ भने बेलायती उपनिवेशकालमा नेपालीहरू फिजी, म्यान्मार, ब्रुनाईबाहेक दक्षिण अफ्रिका, फोकल्यान्ड, अर्जेन्टिना, मलेसिया, इन्डोनेसिया, टिमोरलगायत धेरै देशमा लगिएको हुन सक्छ । नेपालीहरू आफ्नो पहिचानको खोजीमा फिजीमा जस्तै मानसिक प्रताडना खेपेर बसेका हुन सक्छन् । जुन नेपाल सरकार, कूटनीतिक नियोग र एनआरएनएलगायतको खोजीको विषय बन्नु आवश्यक छ ।

के उनीहरू नेपालसँग जोडिन सम्भव छ ?

भावनात्मक रूपमा उनीहरू नेपाली छन् । भाषा भुले पनि उनीहरू पुनः सिक्न चाहन्छन् । चाहनाले भन्दा बाध्यतावश उनीहरूलाई पराईले विष पियाएको तथ्यहरूले बताउँछ । मर्ने बेलामा नेपालको एकमुठी माटो ढोगेर मर्न चाहन्छन् उनीहरू । नेपाल र नेपालीहरूप्रति अगाध स्नेह र सम्मान छ उनीहरूको, त्यसैले उनीहरूलाई नेपाली होइनन् भन्न मिल्दैन । उनीहरूको भावनामा नेपाल र नेपालीको माया, सद्भाव र भ्रातृत्व छ भने आफ्नी आमाको काखमा जान खोजेको सन्तानलाई कानुनी आधार बनाएर भित्र्याइनुपर्छ । कदापि रोक्नुहुँदैन । उनीहरूले आफ्नो देशसँग जोड्न आफू बसेको गाउँको नाम नै हेलम्बु राखेका छन् । त्यो नाम राख्नुको कारण ‘म नेपालमै छु’ भनेर आफ्नो मन बुझाउनु हो । त्यसमा नेपालप्रतिको मनोवैज्ञानिक श्रद्धा लुकेको सहजै देख्न सकिन्छ । अझ छुटेको परिवारसँग १४० वर्षपछि पुनर्मिलन गराउन सके कति आभारी हुन्थे होला उनीहरू । उनीहरू सम्पन्न छन्, तर पहिचानबिना । त्यो पीडा उनीहरूलाई बाहेक अरू बढी कसलाई पो थाहा होला र ! हाम्रो राष्ट्रियताको एक टुक्रा फिजीको काभानान्गासाउ र हेलम्बुमा इतिहासको विष पिएर बसेको छ भन्दा कुन नेपालीको चित्त नदुख्ला र !

के नागरिकता बोक्ने मात्र हुन् त नेपाली ?

कसैले बलजफ्त बाबुबाट छुट्टिएर फोकल्यान्डमै आफ्ना केही पुस्ताहरू बिताए । कोही आमाबाट अलग बनाएर फिजीको लम्फासा टापुमा अवस्थित सिगाटोका पुऱ्याइयो । उनीहरू सयौँ वसन्तहरू पारिवारिक विछोडले मातृभूमि सम्झँदै बिताए । सम्झनाको प्यास मेट्न आफ्नो गाउँलाई हेलम्बु नाम दिए । नेपाल बिर्सन खोजे, तर सम्झना र सपनाले बिर्सन दिएन । त्यस्ता सन्तानलाई कसैले नेपाली होइनन् भन्न मिल्दैन । उनीहरूको भावनामा नेपाल छ, सपनामा नेपाल छ र नेपालसँग सधैँ जोडिएर रहने धोको छ ।

नेपालमा बसेर देश लुट्ने लुटेरा, नेपाली चेलीलाई अरब र अफ्रिकाका अँध्यारा गल्लीहरूमा बेच्ने अपराधीले नागरिकता बोकेर देशको मुखमा कालो पोतिरहेका छन् । ती विदेशी खातामा कालो धन थुपार्नेहरूभन्दा प्रवासमा बसेर नेपालको भलो चिताउने नेपाली दाजुभाइ महान् छन् ।

सरकारले चाह्यो भने बर्मेली नेपालीलाई राजा महेन्द्रले जसरी आफ्नो थातथलो दिलाए उनीहरूलाई पनि गर्न सक्छ । नेपालसँग जोडेर उनीहरूले फिजीमा उखुलगायत कृषिमा गरेको उन्नतिको रहस्य नेपाल भित्र्याउन सक्छ । साम्राज्यवादीहरूको बँधुवा मजदुरको रूपमा बिदेसिन बाध्य बनाइएको र इतिहासले ठगेको नेपालीलाई पुनः आफ्नो पहिचानको सहयात्री चुन्न सक्छ । साथै साम्राज्यवादी अभिशप्तबाट मुक्त गर्न सक्छ ।

अर्को बुझ्नुपर्ने कुरा, राष्ट्र, राष्ट्रियताको सीमा मनमा हुन्छ, उसको परम्परागत संस्कार र पहिचानमा हुन्छ भने राज्य र देशको सीमा भूगोलमा । अतः आफ्नो भूगोलमा निर्वाध सम्पर्कको लागि राष्ट्र (जनता) र राष्ट्रियता (पहिचान)ले जोड्दै दैवको कुचक्रले पिल्सिएका उनीहरूलाई नेपाली भन्न अब ढिला गर्नुहुँदैन । यो विषयमा नेपाल सरकारले पनि फराकिलो नीति बनाउनु जरुरी छ । राज्य मानवनिर्मित भूखण्ड हो र त्यसको आधार पहिचान हो भने राष्ट्र, देश, राष्ट्रियता र राज्यको परिभाषालाई मिसमास गर्न पाइँदैन । एनआरएनएहरू पनि भोलिका फिजी मूलका नेपालीझैँ पहिचान खोज्ने सङ्घर्षमा पुस्तौँपुस्ता भौँतारिने दिन नआओस् भन्नका लागि राष्ट्र, देश, राष्ट्रियता र राज्यबारे स्पष्ट नीति बनाउन सरकारलाई दबाब दिने र आफैँले पनि आफूलाई स्पष्ट पार्न जरुरी छ ।

अन्त्यमा, नेपाली देश रहुन्जेल मात्र देशसँग जोडिने हो, देश मेटिएपछि जोडिने आफ्नो समुदायसँग हो । त्यो समुदाय नै त्यो बेला अदृश्य राष्ट्र बन्दछ जुन भावनामा मात्र सीमाङ्कित हुन्छ । हामी एनआरएनहरूले यो कुरा महसुस गर्न थालिसकेका छौँ । हामी सीमारहित देशमा फिजीका नेपाली मात्र होइन, हाम्रो पहिचानसँग सम्बन्धित संसारको कुनाकुनामा बाध्यताले च्यापिएर बसेका सबै ज्ञात–अज्ञात नेपालीलाई जोड्न प्रयत्न गरौँ । अब कसले कति कमायौँ त्यसको हिसाब गर्दै गरौँला, राष्ट्र र पहिचान दबाएर बसेका हाम्रा आफन्त जोड्न के गर्दै छौँ त्यसले नै इतिहासमा महत्व राख्नेछ । गुलाब जहाँ फुले पनि गुलाब भएरै फुल्दछ । जानी–नजानी फिजीका हाम्रा दाजुभाइ चौथो पुस्तामा समेत नेपाली भएर फुल्ने साहस गर्दै छन् । उनीहरूको नेपालसँग जोडिने र नेपाली बनेर मर्ने महान् सपना पूरा होस्, शुभकामना ! (घटना र विचारबाट)