पाल्पाको सत्यवती ताल, जहाँ ‘कान नसुन्ने बज्यै’सँग चिच्याएर वर मागिन्छ

पाल्पा। हिन्दूधर्मअनुसार मन्दिरमा गएर भगवानसँग मनमनै ‘वर’ माग्नु नौलो होइन तर पाल्पाको सत्यवती ताल र माइको मन्दिरमा भने सबैले सुन्नेगरी चिच्याएर ‘वर’ माग्ने चलन छ ।

तिनाउ गाउँपालिका ४ मा रहेको सत्यवती तालको वरपर तीन पटक घुमेर सार्वजनिकरूपमै चिच्याएर ‘सत्यवती बज्यै’सँग वर माग्ने यहाँको पुरानो चलन हो । तीन दिनसम्म चल्ने मेला यही कात्तिक २४ गतेबाट सुरु हुँदैछ ।

सत्यवती ताल क्षेत्रमा कानले नसुन्ने बजैसँग चिच्याएर वर माग्ने धार्मिक मेला प्रत्येक वर्षझैँ यो वर्ष पनि आइतबारबाट सुरु हुँदैछ । सत्यवती ताल क्षेत्रमा बाजेबजै दुवैको मन्दिर रहे पनि विशेषगरी बजैसँग चिच्याएर वर माग्दा पूरा हुने धार्मिक विश्वास छ ।

सत्यवती बज्यैले कानले सुन्दिनन् भन्ने जनविश्वास छ । त्यसैले पुस्तौँदेखि चिच्याएर वर माग्ने गरिएको हो । वर माग्न र सत्यवती माईको दर्शन गर्न जानेले आफूसँगै बाँस र पातीको लिङ्गो लिएर जान्छन् । त्यही लिङ्गोलाई तालको छेउमा गाडेर पूजा गर्ने चलन रहेको सत्यवती ताल विकास समितिका अध्यक्ष तिलबहादुर गाहाले बताउनुभयो ।

सत्यवतीमा पूजाअर्चना गर्दा मागेको पूरा हुने भएपछि यहाँ बली चढाउनेको भिड र चिच्याएर वर माग्ने कारण चहलपहल बढ्दो हुने अध्यक्ष गाहाले बताउनुभयो । अध्यक्ष गाहाका अनुसार यसपाली पूजा गर्ने जोग परेको दाबी छ । कात्तिक महिनामा बालाचतुर्दशी परेकोमा जोग परेको भन्ने चलन छ ।

‘पहिला पहिला रातिको समयमा नै पूजा हुने चलन रहेको थियो । पछिल्ला वर्ष श्रद्धालु भक्तजनका सहजताका लागि दिनमा समेत पूजा हुन थालेको छ’, अध्यक्ष गाहाले भन्नुभयो।

सत्यवती मन्दिर विकास समितिको आयोजनामा हुन लागेको तीनदिने धार्मिक मेलाका अवसरमा देश तथा विदेशबाट झण्डै तीन लाख पर्यटक आउने गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीको विश्वास छ ।

मेला भर्न जिल्लाभित्रका साथै गुल्मी, रुपन्देही, स्याङ्जा, कपिलवस्तु, नवलपरासी, चितवन, काठमाण्डौ, दाङ, पोखरासहित भारतको गोरखपुर, गोन्डा, लखनउ, नौतनहवाबाट पनि भक्तजन आउने बताइएको छ ।