‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो ‘गो ब्याक इण्डिया’को नाराका साथ विरोध प्रदर्शन

भक्तपुर। नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोध गर्दै नेपाल मजदूर किसान पार्टीले विरोध र्‍याली प्रदर्शन गरेको छ ।

नेमकिपाले बुधवार भक्तपुरको कमलबिनायकबाट शुरू गरेको विरोध र्‍याली भक्तपुर नगर क्षेत्रको विभिन्नस्थान परिक्रमा गरी सूर्यविनायक चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो।

लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर जारी गरेको भन्दै यसको विरोध गरिएको हो ।

विरोधसभामा बोल्दै नेमकिपाका सचिव एवं प्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतले सीमा अतिक्रमण गरी जारी गरेको नक्साको बारेमा सरकारले तत्काल चासो दिएर अन्तर्राष्ट्रिय मञ्चलाई घच्चघचाउनुपर्ने बताए । उनले सत्तामा रहेका दल र ठूला राजनीतिक दलहरुले तत्काल भारतको विरोध गर्न नसक्दा भारतले सीमा अतिक्रमण गरेको विचार व्यक्त गरे ।

यस्तै सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले समेत बुधबार काठमाडौंमा अलग-अलग प्रदर्शन गरेका छन् । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो ‘गो ब्याक इण्डिया’को नारा लगाएका थिए ।