कम्युनिस्ट सरकारकाे कमाल, राष्ट्रपति भण्डारीको भाञ्जा उपकुलपतिमा नियुक्त

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीकी नाताले भाञ्जा पर्ने डा.धर्मकान्त बाँस्कोटालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा नियुक्त भएका छन् ।

सरकारको यो निर्णयसँग राष्ट्रपति भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओली आलोचित बनेका छन् ।

संविधानले आलंकारिक संस्था भनेपनि राष्ट्रपति भण्डारीको भूमिका कार्यकारी अधिकारमाथि हस्तक्षेप गर्नेगरी हुन थालेको प्रतित हुँदै गएको प्रमाण देखिन थालेको चर्चा हुन थालेको छ।

विगत केही महिनादेखि रिक्त रहेको त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदमा सिफारिस समितिले डा.भगवान कोइराला, बाँस्कोटा र चन्द्रमणि पौडेललाई सिफारिस गरेको थियो ।

यसअघि त्रिवि सेवा आयोगमा पूर्व एमाले निकटका व्यक्तिलाई सिफारिस गरी नियुक्ति गरेपछि सहकुलपतिको हैसियतमा रहेका शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पूर्व माओवादी निकट पौडेललाई उपकुलपतिमा नियुक्त गर्न चाहेका थिए ।

प्रधानमन्त्री तथा कुलपति ओली भने डा.भगवान कोइरालाको पक्षमा थिए । एकाएक राष्ट्रपति भण्डारीले आफ्नो पारिवारिक नाता सम्बन्ध भएका बाँस्कोटाको नाम अघि सारेपछि पदाधिकारी नियुक्तिको प्रक्रिया अलमलमा परेको थियो ।

बुधबारदेखि मृगौलामा देखिएको समस्याका कारण नियमित स्वास्थ्य परीक्षण र उपचारमा रहेका प्रधानमन्त्री तथा कुलपति ओलीले राष्ट्रपतिको चाहना बमोजिम नै डा.बाँस्कोटालाई उपकुलपतिमा नियुक्ति दिने निर्णय गरेका छन् ।

नवनियुक्त उपकुलपति डा.बाँस्कोटा नाताले राष्ट्रपतिका स्वर्गीय पति मदन भण्डारीको भाञ्जा पर्ने स्रोतले जनाएको छ। रिपब्लीका दैनिक