आफन्तलाई आकर्षक जागिर खुवाउन यी दुइ मन्त्री माहिर ! पुरै परिवारलाई गरे भर्ती

काठमाडौं। संविधान जारी भएर संघियताको कार्यान्वयन भएपश्चात जनतालाई लागेको थियो, अब दुःखका दिन सकिए। देशमा विकासको मुल फुट्नेछ, सुशासन कायम हुनेछ। त्यो माथि कम्युनिष्ट पार्टीले करिब दुई तिहाइ मत सहित सरकार बनाएपछि अर्को आशा थपियो । स्थायी सरकार बन्छ, दलहरु सरकार फेरबलको खेलमा लाग्दैछन् । जसका कारण एउटा सरकारले पाँच बर्ष काम गर्नपाउँछ र विकास र समृद्धीको पथमा मुलक लम्किन्छ ।

केपी शर्मा ओलीको नेतृत्वमा जब सरकार बन्यो, त्यसको केही समय पछि नै जनताको आशा निराशामा परिणत हुन थाल्यो । सरकार एकपछि अर्को काण्डमा फस्न थाल्यो। सँगै प्रधानमन्त्री ओली सपना देखाउनमा तल्लिन भए । तर, काम भने हुन सकेन । विस्तारै ओली सरकारका मन्त्रीहरु नै विभिन्न काण्डमा मुछिए । जसका कारण अहिले कम्युनिष्ट सरकारप्रति जनता रुष्ट छन् । तर, जनताको मनोस्थिती सरकारले बुझ्न सकेको छैन । बरु जनता भन्दा स्वार्थलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको छ ।

सरकारका मन्त्रीहरु भ्रष्टाचारमा चुर्लम्म डुबेको चर्चा बेला–बेलामा हुने गरेको छ । नेकपामा आशलाग्दा भनिएका योगेश भट्टराई मन्त्री बनेको ६ महिना पनि वितेको छैन । तर, उनी पनि दर्जनौं पटक विवादमा तानिएका छन् । उनी पछिल्लो समय आफ्ना आफन्तलाई आकर्षक जागिर खुवाएको विषयमा चर्चाको शिखरमा छन् । उनीसँगै उर्जामन्त्री बर्षमान पुन समेत भट्टराईसँगै आफन्त पोस्न माहिर देखिएका छन् ।

भनिन्छ, कम्युनिष्टहरु ‘नाताबाद, कृपावाद र परिवारवाद’को विरोधी हुन्छन् । तर, यहाँ भने अवस्था उल्टो छ । किनकी कम्युनिष्टहरुले पुरै परिवारलाई आकर्षक पदमा भर्ती गरेका छन् । मन्त्री भट्टराईले श्रीमतीलाई नर्सिङ काउन्सिल, सालो, साली र पिएको श्रीमतीलाई पर्यटन बोर्ड, बहिनी पर्यटन मन्त्रालय र भाञ्जालाई भ्रमण बर्षको सचिवालयमा नियुक्त गरेका छन् ।यस्तै मन्त्री पुनका भाइ–बुहारी, बहिनी र श्रीमती सांसद हुन् । यस्तै उनले सालो, साली, भतिजो र भञ्जालाई उर्जामन्त्रालय, सम्धीलाई योजना आयोगमा जागिर खुवाएका छन् ।