प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड पुगे अस्पताल

काठमाडौं। स्वास्थ्य उपचारका अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ धापासीस्थित ग्राण्डी अस्पताल पुगेका छन् ।

बिहीवार अपराह्न प्रचण्ड ग्राण्डी पुगेका हुन् । बुधवार प्रधानमन्त्री ओलीलाई आईसीयूमा भर्ना गरिएको थियो । मृर्गाैलामा समस्या देखिएपछि ओलीलाई दोस्रोपटक डायलासिस गरिएको छ ।

यसअघि प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य भीम रावलले डायलासिसका क्रममा रहेकाले आफूले भेट्न नपाएको बताएका थिए ।

प्रधानमन्त्री ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे औपचारिक रूपमा प्रधानमन्त्रीको सचिवालय र अस्पताल प्रशासनले केही बताएको छैन । बिहीवार जारी एक विज्ञप्तिमा स्वास्थ्यस्थिति सामान्य रहेको बताइएको भएपनि रगतमा ‘क्रिटेनाइन’ बढी देखिएपछि डाक्टरहरूले डायलासिस गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रधानमन्त्रीको बुधवार अपराह्न पहिलो चरणको डायलासिस सम्पन भएको छ भने बिहीवार करीब ३ बजेसम्म डायलासिस हुँदै गरेको स्रोतले बतायो । ‘एक पटक डायलासिस गर्न ३ देखि ५ घण्टा लाग्छ,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘यस्तो डायलासिस हप्तामा कम्तिमा ३ पटक गर्नुपर्ने हुन्छ । तेस्रो चरणको डायलासिस केही दिनको अन्तरालमा गर्ने तयारी छ।’

हालसम्म प्रधानमन्त्रीमा अन्य संक्रमण नदेखिएको स्रोतले दाबी गर्‍यो । ‘उहाँको परीक्षण रिपोर्टहरू आउने क्रम जारी छ,’ स्रोतले भन्यो, ‘रिपोर्टहरू सामान्य देखिएमा आजै डिस्चार्ज गर्ने तयारीमा अस्पताल रहेको छ ।’