काठमाडौं तर्फ उडिरहेको जहाजलाई क्याप्टेनले जब हङकङतिरै मोडे

कमल पौड्याल हङकङ
हङकङ आएदेखि नै बर्षको एक दुई पटक नेपाल ओहोरदोहोर गर्ने मेरो रूटीन थियो। १२ मे २००९ मा नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौंको उडान थियो। मित्र जेएन ज्ञवालीको सदासयतामा नेपाल एअरलाइन्सकी तत्कालीन हङकङ स्टेसन म्यानेजर बाबा श्रेष्ठले साधारण कक्षको मेरो टिकट बिजनेश कक्षमा अपग्रेड गरिदिएकी रहिछन्।

हङकङबाट अन्य एयरलाइन्सले पनि काठमाडौं उडान भर्ने भएकाले नेपाल एयरलाइन्सकै टिकट लिनुपर्ने बाध्यता त छैन। तर सेवा सुविधा जे जस्तो भए पनि विदेशमा बस्ने म जस्ता नेपालीले नेपाल एयरलाइन्सको जहाजको ढोकाभित्र छिर्नासाथ नेपाल नै छिरेको अनुभूति गर्न सक्छौं। पृष्ठभूमीमा बज्ने मसिनो नेपाली लोक धुन, जहाजको वालमा देखिने हिमाल र पशुपतिको मधुरो पेन्टिङ, नेपाली दैनिक पत्रपत्रिका र नेपाली भाषा बोल्ने परिचारिकाको व्यवहारले आफ्नो देशमा प्रवेश गरेको आभाष भैहाल्छ मलाई।

आकस्मिक सुरक्षा उपकरणको प्रदर्शनपछि नेपाल एयरलाइन्सको गण्डकी नाम गरेको जहाज बिस्तारै रनवेतिर सोझिंदै गर्दा ककपिटबाट क्याप्टेन शिशिर शर्माको आवाज सुनियो, ‘क्याबिन क्रु, क्रस चेक द डोर एण्ड रेडि फर टेक अफ।’

त्यत्तिकैमा जहाज घ्याच्च रोकियो। सायद हङकङ विमानस्थलको व्यस्तताले हुनसक्छ भन्ने अनुमान लगाउँदै गर्दा करिब दश मिनेटपछि पुनःउद्घोषण भयो– लेडीज एन्ड जेन्टलम्यान, वी रेक्टीफाई सम प्रोब्लम, वी विल बी लिटल डिले।

नेपाल एयरलाइन्सको इन्जिनियर टोली हामी बसेको नजिकै रहेछ। उनीहरूसँग परिचय भयो। कुरा बुझ्दा जहाजको रोल्सरोयको इन्जिन अघिल्लो दिन हङकङमै फेरिएको रहेछ। ककपिटबाट जहाजको इन्जिनको कनेक्सनमा समस्या आएको कुरा गाइँगुइँ सुनियो। हामी जहाजभित्रै थियौं, हङकङ विमानस्थलका इन्जिनियरहरूले जहाजको पखेटा मुनी करिब पौने घन्टा लगाएर मर्मत गरे। उड्यन प्रबिधिको नियम अनुसार यात्रुहरु रहेको अवस्थामा जहाज स्टार्ट गर्न नमिल्ने भएकाले हामी ओर्लिएर पुनः प्रतिक्षालयमा बस्यौं। केही बेरपछि नेपाल एयरलाइन्सकी हङकङ म्यानेजर शान्ता बस्नेतले भनिन्, ‘आज जहाज उड्दैन, सबै यात्रुलाई रिगल एअरपोर्ट होटलमा बस्ने व्यवस्था मिलाइएको छ। भोलि बिहानै हामी काठमाडौं उड्छौं।’

देशको शासन व्यवस्थाको कारण हामी नेपालीलाई जे कुरामा पनि नकारात्मक सोच्ने बानि परिसकेको छ। ‘एकपटक ककपिटमा बसेर इन्जिन स्टार्ट गरेपछि क्याप्टेनले जहाज नउडाए पनि भत्ता पाउँछन् रे, त्यै भएर उडान रद्द गरायो’ भन्दै त्यहाँ पाइलटलाई दोष दिने क्रम शुरु भैहाल्यो। तर मलाई जहाज नउड्नुको कारण त्यही हो जस्तो लागेन।

जेएन ज्ञवाली र मैले सल्लाह गर्यौं– हङकङबासी भएकाले विमानस्थलको तारे होटलमा राष्ट्रिय ध्वजावाहकलाई पन्ध्र सय हङकङ डलर तिराएर बस्नुभन्दा आफ्नै घर जाउँ र भोली बिहानै फेरि विमानस्थल आउँ।

तर ‘सबै यात्रुका लागि कोठा बुक भइसकेको छ, जहाज बिहानै उड्ने भएकाले होटलमै बसौं’ भन्ने बाबा श्रेष्ठको भनाई मान्दै हामी रिगल एअरपोर्ट होटलमा सुत्यौं। बिहान सात बजे नै जहाज चाँडै उड्ने र ब्रेकफास्ट पनि जहाजमै खुवाइने भन्दै वेकअप कल आएपछि हतार गर्दै जहाजतिर लागियो।

बिहानको कलिलो घाममै चेकलापकोकको भुइँ छोड्दै सनसेट हिल र लान्ताउ पिकलाई देब्रे पारेर नेपाल एयरलाइन्सको जहाज हङकङको पुरानो ऐतिहासिक माझी गाउँ ताइ ओ माथिबाट आकासियो। हङकङ शहरलाई देब्रे पार्दै हामी चढेको जहाज चाङचाउ, लामा आइल्यान्ड, रिपल्सबे, स्टेनली हुँदै दक्षिण चीन सागर माथिबाट नेपाल जाने आकाश मार्गतिर सोझिँदै थियो। हङकङबाट प्रायः साँझ उडेर राती काठमाडौं उत्रने बानी परेका हामी दिउँसै नेपाल पुगिने भइयो भन्दै रमाइलो महशुस गर्दै थियौं।

सायद ३२ हजार फिट माथिको उचाईमा जहाज उडिरहेको थियो त्यसबेला। सीटको पेटी फुकाल्ने संकेत र शौचालयको हरियो चिन्हसँगै चहलपहल शुरु भैसकेको थियो। कफी पिएर शौचालय गएर बाहिर निस्कँदा प्लास्टिक पोलेको तिखो गन्ध आएको महशुस गरें मैले। तुरुन्तै मित्र जेएन ज्ञवालीलाई सोधें। खै कफीको बास्नाले केही थाहा नभएको हो कि भन्दै गर्दा गन्धसँगै पातलो धुवाँ पनि देखियो जहाजभित्र।

त्यत्ति नै बेला इन्जिनियर टोलीले ककपिट भित्र-बाहिर गर्दै मेन्टिनेन्स बाकसबाट समान निकाल्दै खाना तताउने ओभनमाथि केही चिज काटेर डिस्कनेक्ट गर्दै गरेको देखियो।

लगत्तै क्याप्टेनले उद्घोषण गरे, ‘लेडीज एन्ड जेन्टलम्यान, वी रेक्टीफाई सम प्रोब्लम एट एअरक्राफ्ट, वी वील बी ब्याक टु चेकलापकोक एअरपोर्ट।’

क्याप्टेनको उद्घोषण लगत्तै काठमाडौं तर्फ उडिरहेको जहाजले हङकङतिरै मोडिएर उचाई घटाउन शुरु गर्यो।

जहाजभित्र धुवाँको मात्रा बढ्दै गइरहेको थियो। सानो छँदा ‘एअरनोटिकल इन्जिनियर बन्छु’ भन्ने छोरो बिराज र म नेशनल जियोग्राफिक च्यानलमा एअरक्य्रास इन्भेष्टिगेसन खुबै हेर्थ्यौं। त्यो भिडियोमा जे अवस्था देखिन्थ्यो अहिले हामी चढेको जहाजभित्रको अवस्था त्यस्तै सन्नाटामा परिणात भैसकेको थियो। जेएन ज्ञवाली हात जोडेर सायद पशुपतिनाथलाई सम्झँदै थिए भने पम्फा भाउजु ‘मरे पनि बुढाबुढी सँगै’ भन्दै थिइन।

मैले चाहिँ घरको ढोकाको संघारमा ‘यताको पीर नगर्नु, राम्रोसँग छुट्टी मनाउनु, बाबालाई समय दिनु’ भन्दै उभिएकी श्रीमती र अँध्यारो मुख लगाएर ‘आइ वील बी मिसिङ यु ड्याड’ भन्दै उभिएको छोरो सम्झें।

उता काठमाडौंमा उमेरले आठ दशक पुग्न लागेका पिताजी, सधैं खुसी हुँदै विमानस्थलमा मलाई लिन आउने भाई र तोते बोलीमा ‘थुलो बाबा, हजुर नेपाल कहिले आउने’ भन्ने भतिजो र पिताजीलाई सधैं खुशी राखेर हेरविचार गर्ने बुहारीलाई सम्झें।

कुनै पनि समय दुर्घटना हुन सक्ने अवस्थामा उडिरहेको जहाजभित्र म जीवनको अन्त्य आजै हुँदैछ त भन्ने प्रश्न मनमा खेलाउँदै थिएँ।

जहाजले निकै तल झर्दै चेकलापकोकको आकाश मार्ग सोझ्याइरहेको थियो। तल समुद्रमा पानी देखिएपछि अलि सास आयो। धेरै दुर्घटनामा क्याप्टेनले जहाजलाई पानीमा अवतरण गराएर बचाएको दृश्य सम्झिएँ। नब्बेको दशकमा हङकङकै पुरानो काइताक विमानस्थलमा ओर्लने क्रममा ताइवानबाट आएको एयर चाइनाको जहाज थोरै अगाडि गएपछि मोडन नभ्याएर सिधै पानीमा पुगेर हाँसझै पौडिएको सम्झिएँ। जुन जहाजबाट अठ्ठाइस मिनेटभित्र हङकङको उद्धार टोलीले सबै यात्रुलाई बचाएर वाही वाही पाएको थियो।

अझ सन् दुई हजारको दशकमा सामुद्रिक आँधी– ताइफून आठमा परेर एयर चाइनाकै अर्को एअरबस हङकङ विमानस्थलको रनवेमा उत्तानो पर्दा पनि एक जनाको मृत्यु बाहेक सबै यात्रुलाई सकुशल उद्धार गरिएको सम्झिँदा मनमा आशा पलाएर आयो।

यता जहाजभित्रको धुवाँ निकै बाक्लो रुपमा फैलिइसकेको थियो। र, फलाम वेल्डिङ गरेजस्तो गन्ध समेत आइरहेको थियो। अगाडि कुनै पनि सेकेन्ड जे पनि हुनसक्थ्यो। तर केही बेरमै जहाजले पुनः हङकङ विमानस्थलको भुइँ छोयो। सबैले ‘अब बाँचियो’ भन्दै शान्तिको सास फेरे।

बाँच्न त बाँचियो अब के गर्ने ?

जहाजमा मर्मत शुरु भएसँगै ठूलो भ्याकुमले धुवाँ तानियो। कुरा बुझ्दा खाना तताउने ओभन जलेको रहेछ। सुखद संयोग, यदि इन्जिनियर टोलीले समयमै नकाटेको भए त्यो तार जल्दै गएर जहाजमा आगलागी हुने रहेछ।

अब फेरि त्यही जहाजमा चढेर काठमाडौं जाने या नजाने ?

‘कमलजी, आइ एम नट गोइङ टुडे’ भन्दै बेलायती सेनाका पूर्व मेजर लिलबहादुर गुरुङ ह्याण्डक्यारी लिएर ओर्लिए। पोखराकै अनु गुरुङ ‘कमल दाई, आइ एम योङ, आइ डन्ट वन्ट डाइ सो अर्लि’ भन्दै निक्लँदा म पनि झसङ्ग भएँ। धरानका अर्का परिचित भाई हेम राई श्रीमती ‘शान्तिले नराम्रो सपना देखेको थिएँ भन्थिन, मत बरू कोलकाता भएर जान्छु’ भन्दै निक्लिए।

मपनि ह्याण्डक्यारी निकाल्ने तर्खरमा थिएँ। जेएन ज्ञवालीले नेपाल एअरलाइन्सका इन्जिनियर कर्णबहादुर पुन र उनका सहकर्मीलाई ककपिटमा देखाएर सम्झाउँदै भने, ‘यो बोइङ अत्याधुनिक कम्प्युटराइज जहाज हो, मर्मत पनि भैसक्यो। ठूलो समस्या भए त हामी पनि उड्ने थिएनौं।’

त्यसपछि म कन्भिन्स भएँ। पेशाले रेष्टुरेन्ट व्यवसायी भएकाले धेरैले चिन्ने र म पनि निक्लिँदा अरु धेरै निक्लिन सक्ने भएकाले नेपाल एयरलाइन्सका हङकङ म्यानेजर शान्ता बस्नेत र स्टेसन म्यानेजर बाबा श्रेष्ठले पनि नओर्लन आग्रह गरे। सायद अधिल्लो दिनदेखि यात्रुको होटल र खानपिन, जहाज पुनः अवतरण र टेकअफ तथा मर्मत खर्चले होला हङकङका सबै स्टाफ चिन्तित देखिन्थे। लामो समय लगाएर तीन चार जना यात्रुको लगेज निकालेपछि जहाज पुनः उड्यो, उही रूटिन अनुसार।

‘खाना तात्दैछ, ड्रिंक के लिनुहुन्छ’, परिचारिकाले सोधिन।

‘बरु चिसै खाउँला, नतताउनुस्’, मैले भनें।

‘त्यस्तो हुँदैन, मर्मत भइसक्यो। नत्र हामी कसरी काम गर्छौं त?’

कन्भिन्स भैहाले पनि कतै जहाजमा त्यही तार जल्दै गरेको गन्ध फेरि आउने हो कि भन्दै बेला बेला सु सु गरिरहें।

चीनको कुनमिङ हुँदै म्यानमार, बङ्गलादेश, कोलकाता, रक्सौल माथिबाट जहाज नेपाल छिर्यो। र, बीरगंज, सिमरा, पथलैया माथिबाट चुरे पहाड काट्दै काठमाडौं सोझिएको जहाजले लामै समयसम्म अवतरण गर्ने सुरसार देखाएन। गम्दै थिएँ, झ्यालबाट बाहिर हेर्दै पम्फा भाउजुले भनिन्, ‘हैन् जहाज किन नारायणघाटतिर पो ल्यायो?’

फेरि झसङ्ग भइयो, चक्का ननिक्लेर ओर्लन नसकेको पो हो कि?

‘यस्तो अवस्थामा त हङकङमै भएको राम्रो, काठमाडौंमा विपद व्यवस्थापन राम्रो छैन’ भनेर कुरा खेलाउँदै गर्दा उनै परिचारिकाले भनिन्, ‘काठमाडौंमा एअर ट्राफिक भएकाले केही समय जहाज आकाशमै होल्ड हुनेछ।’

फेरि सन्तोषको सास फेरियो।

आधा घन्टा ढिलो गरेर अन्ततः जहाजले देशको भुइँ छोयो। काठमाडौं ओर्लिएर ठिङ्ग उभिएर जहाजतिर हेरें अनि फेरि आकाशतिर हेरें।

हावाको झोक्कासँगै देशको माटो महशुस गरें।