समाजमा सकारात्मक सन्देश दिंदै कांग्रेसका यी ठूला मुस्लिम नेताले लगाए तिहारको टीका (तस्वीर)

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री फरमुल्लाह मन्सुरले तिहारको टीका लगाएका छन् । मुस्लिम समुदायको भएर पनि मन्सुरले भाइटीका लगाएका हुन् । हिन्दूधर्मालम्बीहरूले विशेष महत्वको साथ मनाउने तिहार पर्वलाई नेपाली कांग्रेसका नेता मन्सुरले पनि हर्सोल्लासका साथ मनाएका छन् ।

केन्द्रीय सदस्य मन्सुरले बहिनी मधु शाही ठकुरीसँग भाइटीका लगाएका हुन् । मन्सुरले बहिनी शाहीसँग बिगत वीस वर्षदेखि भाइटीका लगाउँदै आएका छन् । तिहारको दिन बारा जिल्लाको अमलेखगञ्जस्थित बहिनी शाहीको घरमा नेपाली कांग्रेसका नेता मन्सुर भाइटीका लगाउन टक्रक्क पुगेका थिए । मन्सुर पनि बारा जिल्ला निवासी हुन् ।

नेपाली कांग्रेसका नेता मन्सुरले बिगत वीस वर्षदेखि आफूले भाइटीका लगाउँदै आएको र तिहार पर्व आफूलाई मन पर्ने बताए । मैले वीस वर्षदेखि भाइटीका लगाउँदै आएको छु । मधु शाही ठकुरीलाई बहिनी बनाएको छु’, उनले भने, ‘चाढपर्व सबैको हो । यसले सामाजिक सद्भाव, समाज र परिवारमा खुसीयाली लिएर आएको हुन्छ ।’

तपाई मुस्लिम धर्म मान्ने समुदायको व्यक्ति हिन्दूधर्मालम्बीहरूको पर्व मान्दा वा टीका लगाउँदा कुनै अफ्ठ्योरो लाग्दैन ? भन्ने प्रश्नको जिज्ञासामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मन्सुरले भने, ‘यसमा अफ्ठ्यारो लाग्ने कुनै प्रश्न आउँदैन । मैले पहिला पनि भनिसके । जुन धर्मको चाढपर्व भएपनि त्यसले समाज र परिवारमा खुसी ल्याएर आएको हुन्छ । त्यसलाई मान्ने नमान्ने व्यक्तिको इच्छा हो । मलाई मन पर्‍यो मनाए । टीका लगाएँ ।’

नेपाली कांग्रेसका नेता मन्सुरले समाजमा चेतना र परिवर्तन जहिले पनि राजनीतिक नेतृत्व र नेताहरूबाट हुनुपर्ने बताए । हाम्रो देशमा धेरै जातजाति छन् । उनीहरू सदियौँदेखि मिलेर बसेका छन्’, उनले भने, ‘मिलेर बस्नु । मिलेर सबैको चाढपर्व मनाउनु हामी सबैको पहिचान हो । हामी सबैले समाजमा भाइचारा बनाइ राख्न आफैबाट सकारात्मक सन्देश दिनुपर्छ।’

नेपाली कांग्रेसका नेता मन्सुरकी बहिनी शाही संविधान सभाकी सभासद् पनि हुन् । उनले बारा जिल्लाबाट संविधान सभामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गरेकी थिइन् ।