र्‍याप हान्ने काम भिटेनको, उखानटुक्का हान्ने काम केपी ओलीको !

  • दिलनिशानी मगर

हात्ती दुब्लाएर बोरामा अट्दैन, मुसो मोटाएर हात्ती हुँदैन जस्ता प्रधानमन्त्री केपी शर्मा ओलीका उखान टुक्काहरू त सुन्नुभएकै होला । गोरु नांगो देख्दा मलाई अहिलेसम्म लाज लागेको छैन भन्ने उहाँ नै हो । यो त राजनीतिक अश्लीलता हो । एकपटक ओलीले यस्तो पनि भनेका थिए– ‘सिनेमामा हिरोले हिरोइनलाई अँगालो हाल्छ, काखी च्याप्छ, हिरोइन आँसु झार्छे, एक अर्कालाई केही भयो भने पुर्पुरोमा हात राखेर रुन्छन्, जब सिनेमा सकियो केको लभ पर्नु, हिरो एकातिर, हिरोइन अर्कैतिर । हामीले जति राम्रो बनाउन खोजे पनि एमाले माओवादीको सम्बन्ध त्यस्तै भयो ।’ यो ओलीको खुब मीठो साहित्य थियो । रोमान्सकै कुरा प्रधान थियो ।

त्यस्तै तत्कालीन समयमा ओलीले अराजनीतिक टिप्पणी यसरी गरेका थिए– हावा भरिएको बेलुनजस्तो आकार मात्र ठूलो भएर हुँदैन, तौल पनि चाहिन्छ । रुक्मांगद नामको छेस्कोले के घोचेको थियो, फ्यास्स हावा खुस्कियो । माओवादी छातेच्याउ मात्रै हो, भदौको ठूलो थोप्ला पानीले नै ठेगान लगाउँछ ।’ यहाँ ओलीले तत्कालीन सेनापति रुक्मांगद कटुवाललाई छेस्कोसँग तुलना गरेका थिए । र्‍यापर भिटेनले उनको गीतमा प्रहरीलाई ‘डण्ठे’ भनेका छन् । मलाई लाग्छ, छेस्को र डण्ठे उस्तै उस्तै भाष्य दिने शब्दहरू हुन् । खैर जे होस्, भन्न खोजेको के भने ओलीले उखान टुक्का हानिरहेकै छन्, भिटेनले र्‍याप किनकि यो लोकतन्त्र हो ।

भिटेनले डण्ठे बाहेक, उध्रेको तुना तान्छु पनि भनेका छन् । ‘आऊ न यता यता, अलि यता यता’ भन्दै होटलको खाट पनि भाँच्छु भनेका छन् । यो उनको भन्ने शैली हो । सुन्ने नसुन्ने त्यो श्रोताको कुरा हो । म जीवन शर्माको ‘सिमली छाँयाले’ धेरै सुन्छु, त्यो मेरो रोजाइ हो । कतिपयले शिव परियारको ‘क्या दामी भो’ र ‘पिलायो साथीले’ भन्ने सुन्छन् । त्यो उनीहरूको कुरा हो । पल्लाघरे काकाको छोराले भिटेनको ‘मान्छे खत्तम’ भन्ने गीत सुन्छन्, त्यो उनको कुरा भो । अहिलेका युवा ‘यस्तै त हो नि ब्रो’ मन पराउँछन् उनीहरूको मर्जीको कुरा भयो । यहाँ कसले कसलाई यो सुन, त्यो नसुन भनेर डिक्टेट गर्ने क्या !

आज कुपोषणको दर उच्च छ । के यो हाँस्ने सवाल हो ? पक्कै पनि हैन । तर पनि मानिसहरू हाँस्न छाडेका छैनन् किनकि ओलीले उखानटुक्का हान्न छाडेका छैनन् । अब भन्नुहोस्, भिटेनले र्‍याप हान्न किन छाड्ने ?

प्रधानमन्त्री केपी ओलीले भाषण गर्दा प्रायः उपस्थित मानिसहरू थपडी मारेर हाँसिरहेका देखिन्छन् किनकि धेरै मानिसहरू उनको उखान टुक्काका फ्यान पनि छन् । यो ओलीको कुरा भयो । उनको शैलीको कुरा भयो । मलाई मन नपरेर के गर्ने ? पुलिस, समात ओलीलाई भन्दै हिँड्ने ? तर ओलीको भाषणमा मानिसहरू सधै हाँस्नु भनेको प्रमकै ‘डिसरेस्पेक्ट’ हो भन्ने लाग्छ । तर न लोकवासीहरू जगतै गुन्जिने गरी हाँस्न छाड्छन्, न प्रधानमन्त्री केपी ओली हौसाउन छाड्छन् । कसैले केही छाड्नेवाला छैन यहाँ । कुनै दिन प्रधानमन्त्रीले भात खान नपाएर केही नेपाली नमर्ने र सरकारले बिस्तारामै भात लगेर दिने भाषण गरेका थिए । आज कुपोषणको दर उच्च छ । के यो हाँस्ने सवाल हो ? पक्कै पनि हैन । तर पनि मानिसहरू हाँस्न छाडेका छैनन् किनकि ओलीले उखानटुक्का हान्न छाडेका छैनन् । अब भन्नुहोस्, भिटेनले र्‍याप हान्न किन छाड्ने ?

संस्कार र विचारकै बहस गर्ने हो भने कम्युनिस्टका धेरै नेताहरूले आफ्ना महिला कार्यकर्ताहरूसँग भेट हुँदा पार्टी संगठनको कुरा भन्दा नि ‘तिम्रो ब्वाइफ्रेन्ड छ कि छैन,’ ‘बिहे भएको छ कि छैन’ भनेर सोध्ने गरेका कैयौं उदाहरण छन् । मतलब मूलतः विचारप्रधान हैन कि प्रेमप्रधान छ जिनीस । मानिसहरू भन्छन्, ‘अधिकांश नेताहरू बोका छन् ।’ यसको प्रमाण त छैन तर कृष्ण बहादुर महरा बलियो नजीरका रूपमा स्थापित भने बनिसकेका छन् । सामूहिक फोटो खिच्दा, यहाँ काखमा बस्दा पनि केही फरक पर्दैन भन्ने नेताहरू समेत धेरै नै छन् ।

यसकारण एकबारको जुनीमा सबैले केही न केही त हानिरहेकै हुन्छ । भिटेनले र्‍याप हानिरहेका छन्, केपी ओलीले उखान टुक्का हानिरहेका छन्, हर्कबहादुरले नान रोटी हानिरहेका छन् । यो के नौलो भयो र ? साथीभाइहरूले बेलाबेलामा मलाई पनि छिर्के हान्ने गर्छन् । तर जब शासकहरूले मैले हानेको जम्मै ठीक, तिमीहरूको जम्मै गलत भन्ने हो भने मामिला गडबड हुन्छ । राजनीतिक अश्लीलता हुन्छ त्यो ।

यसबीचमा सरकारका मन्त्रीहरूले देश चलाउन छाडेर यूट्युबमा कसको के आएको छ, के भाइरल भएको छ, त्यो आँखा च्यातेर हेर्न थालेका छन् । जनताको सेवामा समर्पित भएर नीति तथा कार्यक्रम बनाउने हैन कि मन्त्रीहरू सामाजिक सञ्जाल फेसबूक, ट्विटरमा आफ्ना बारे कसले कहाँ के कस्तो लेख्या छ त्यो पनि आँखा टल्काएर हेर्ने गरेका छन् । त्यही आधारमा राष्ट्रिय धारणा तय गर्ने गरेका छन् । के देशको एजेन्डा सेट यूट्युबले गर्छ ? पक्कै गर्दैन । मन्त्रीहरू भन्छन्, ‘यूट्युब हेरिनसक्नुभएको छ ।’

तर यूट्युबको कन्टेन्ट हेर्ने काम मन्त्रीको हैन । यूट्युबकै हो । यसका लागि यूट्युबले हजारौं कर्मचारीहरू खटाएको छ, नेपालका मन्त्रीहरूले टाउको दुखाउनुपरेन । मन्त्रीहरू, नेताहरू आफ्नो काम गर्नु छैन, खाली अरूको कर्ममा भाँजो हालेर सिँगुरी खेल्छन् । केही यस्ता नेताहरू छन्, जो राम्रोसँग कपुरी क लेख्न जान्दैनन् तर पत्रकारलाई समाचार लेख्न सिकाउँछन् । लेखकलाई लेख लेख्न सिकाउने, गायकलाई गीत गाउन सिकाउने, यो भएन त्यो भएन, यस्तो हुनुपर्थ्यो, उस्तो हुनुपर्थ्यो भन्ने । यस्तो लाग्छ, अब हाम्रा नेता मन्त्रीहरूले डान्सरलाई नाच्न पनि सिकाउनेछन् ।

यसरी हाम्रा देशका मन्त्रीहरू पृथ्वीमा भएका सारा चटारोहरूको जानकार भएका छन्, हरेक चीजमा दक्खल राख्ने दिग्गज भएका छन् । जस्तो केही ताजा उदाहरण यहाँ राखांै । प्रहरीले आफ्नो बर्दी दुरुपयोग गरेको र प्रहरीलाई खिस्सी गरेर र्‍याप हानेको भन्दै र्‍यापर समीर लामा घिसिङ भिटेनलाई समात्यो । लोकतन्त्रमा प्रहरीको आलोचनी गर्न नहुने, सिम्बोलिक खिस्सी गर्न पनि नपाइने, यस्तो हुँदैनथ्यो । तर तत्कालका लागि प्रहरी संगठनको बदनाम हुँदै गएको छवि जोगाउनका लागि प्रहरी सस्तो लोकप्रियताको खोजीमा थियो । नेपालीहरू भावुक छन्, दिमाग भन्दा पनि दिलबाट चल्छन्, यस्तो समाजमा अनि बजारमा सस्तो लोकप्रियताको भाउ ह्वात्तै बढेको हुन्छ ।

कतिपय हिन्दी चलचित्रहरूमा मात्र हैन हलिउडमा पनि प्रहरीको चरित्रलाई कसरी देखाइएको हुन्छ ? अपराधीहरूको नाइके जस्तो देखाइएको हुन्छ । तर के अब भारतीय प्रहरीहरू कलाकारलाई समात्दै हिँड्छन् त ? कलाकारको कलाकारिता हो, जसका उपर पनि लक्षित हुन सक्छ नि !

‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागूऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले भिटेनलाई पक्राउ त गर्‍यो, तर र्‍याप गीतको उत्पत्ति, यसको फ्री स्टाइल र करोडौं युवाहरूको आक्रोशको माध्यम खासमा के हो भन्ने प्रहरीले बुझेनन् । भिटेनका समर्थक युवाहरूको उपस्थिति पनि प्रहरीले आकलन गर्न सकेन । अन्ततः प्रहरी भिटेनलाई रिहा गर्न बाध्य भयो ।

तर भिटेन पक्राउबारे पत्रकारहरूद्वारा सोधिएको प्रश्नमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले र्‍यापर भिटेनलाई पक्राउ गर्ने प्रहरीको कदमको प्रशंसा गर्दै नेपाली समाजको मौलिकपन रहेको र स्वतन्त्रताका नाममा समाजको मूल्यमान्यता भत्काउन नहुने बताएका थिए । सरकारको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जाल तातेको छ ।

तर ती मूल्य र मान्यता के के हुन् उनले बताएका थिएनन् । यहाँ प्रश्न उठ्छ, नेपाली समाजको मूल्य र मान्यताहरू के हुन् ? भजनकीर्तन मात्रै मूल्यमान्यता हुन् ? युवाहरूमा स्वाभाविक रूपमा भित्रिएको हिप्पीपन केही पनि हैन ? कलाकारिता समाजको ऐना भएको भन्दै मन्त्री बास्कोटाले ‘दिदी, भाइ, बहिनी आमा र परिवारसँग बसेर तिनले गाएको गीत सुन्नुस् । कतिको समर्थन राख्नुहुन्छ ? कतै अनुहार लाजले रातोपीरो हुन्छ कि ?’ भन्दै पत्रकारहरूलाई भिटेन पक्राउ हुनुको कारण खुलाएका थिए । तर यहाँ प्रश्न उठ्छ, के गीतहरू परिवार सँगै बसेर सुन्नका लागि मात्रै गाइन्छन् ? के गीतहरू स्वस्थानी व्रतकथा नै हो त ? संसारको म्युजिक ट्रेन्ड यही हो त ? हैन ।

परिवारसँग बसेर त यूट्युबमा कमला घिमिरेको दोहोरी सुने भैहाल्यो नि । बद्री पंगेनीको सुने पनि भयो । भिटेनको र्‍याप किन परिवारसँग बसेर सुन्न पर्‍यो त ? केही बाध्यता ? अनि संगीतको सिर्जना भनेको केवल परिवारसँग बसेर सुन्नका लागि मात्रै हुने हो र ? अनि संस्कृति र संस्कारको ठेकेदार को हो ? जहाँसम्म प्रहरीको बर्दी दुरुपयोगको प्रश्न छ, हेर्नुहोस्, कतिपय हिन्दी चलचित्रहरूमा मात्र हैन हलिउडमा पनि प्रहरीको चरित्रलाई कसरी देखाइएको हुन्छ ? अपराधीहरूको नाइके जस्तो देखाइएको हुन्छ । तर के अब भारतीय प्रहरीहरू कलाकारलाई समात्दै हिँड्छन् त ? कलाकारको कलाकारिता हो, जसका उपर पनि लक्षित हुन सक्छ नि !

साहित्य संगीत सिर्जनशील अराजकतामा पनि समेटिएका हुन्छन् । त्यो एउटा थिमको कुरा हो, थिमेटिक कुरा हो । प्रहरीले आफ्नो काम गर्ने हो, गायकलाई गीत गाउन सिकाउने ठेक्का प्रहरीको हैन । मन्त्रीहरू गायकका शब्दका सेन्सरबोर्ड हैनन् ।

सिर्जनशील अराजकताको नाममा साहित्य कर्म गरिरहेका राजन मुकारुङले भिटेन पक्राउ भएपछि फेसबूकमा स्टाटस लेख्दै सरकारको आलोचना गरेका थिए । उनले भनेका थिए– शासकीय शानको अधिनायक लादिरहने, शासितहरूले तपाईंको भजन गाइरहनुपर्ने ? यस्तो त हुँदैन । केवल आक्रोश मात्रै, आवेग मात्रै ठान्ने हो भने त के बहस हुन्छ ? तर्कहीन तर्क त जसै उठ्लान् । प्रतिरोधका भाषाहरूलाई गम्भीर भएर चिन्नु र खुट्ट्याउनुपर्ने हुन्छ । झट्ट हेर्दा, सुन्दा शब्द प्रयोगमा देखिने भद्दापना, कतै प्रतिरोधी चेत, आलोचनात्मक चेतले पो आएका छन् कि भन्ने पनि निफन्नुपर्छ । सृजनशील युवाशक्तिलाई चौब्बर ब्याजको औंठाछाप लगाउँदै बिदेशिन बाध्य पार्ने अनि देश फर्क युवा, देश फर्क भन्दै स्याड सङको आलाप गाउने कुरा झनै घिनौना हुन्छ । पहिले समाजका वर्गविभेदका जराहरू खोजौं । हुनेखाने र हुँदा खानेहरूको असमानताको अन्त्यका लागि अभियान थालौं ।’

सामाजिक सञ्जालमा चौतर्फी दबाब आएपछि प्रहरीले आफ्ने निर्णयलाई सच्याएर भिटेनलाई धरौटीमा रिहा गर्‍यो ।

ल, मानौं भिटेन र दुर्गेश त छाडा भए रे, तर चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको थियो

मेरो विचार के हो भने गीत मन परेन भने कान थुन्ने हो, तर लोकतन्त्रमा गायकलाई थुन्ने हैन । यस्तो ठीक हैन । गायकको मूल्यांकन श्रोताले मात्र गर्न सक्छ नि । जस्तो कि, भिटेन पक्राउ परेपश्चात् नेपालमा र्‍याप संगीत शुरू गर्ने गायक गिरीश खतिवडाले प्रतिक्रिया जनाए– फ्रिडम अफ एक्सप्रेसन र भल्गारिटीको सीमा तोक्ने काम प्रहरी वा समाजको हैन। उनले यो पनि बताए, ‘समाजमा के ठीक, के बेठीक भन्ने कुराको शेप यस्तै घटनाले लिने हो । यो घटना केस स्टडी बन्न सक्छ । अरू जनराभन्दा र्‍याप गाउनेको शैली फरक हुन्छ । उनीहरू आफूलाई फ्रि स्टाइलमा एक्सप्रेस गर्न चाहन्छन्,’ गिरीशले भने, ‘र्‍याप, रक, पंक अफेन्सिभ हुन्छ नै । यसको शब्द, गायन र नृत्यसमेत एग्रेसिभ हुन्छ । यो शैलीलाई नबुझी कारबाही गर्नु निन्दनीय छ ।’

भिटेनभन्दा अघि दुर्गेश थापालाई पनि प्रहरीले समात्यो । ह्याप्पी तिहार चिसो बियर, गाँजा लगायका शब्दहरू प्रहरीलाई मन परेन । र यो गीत यूट्युबबाट नै हटाइयो । मलाई लाग्छ, यो पनि प्रहरीको केटाकेटी पाराबाहेक अरू केही हैन । सबै गीतहरू स्वदेशी गीत हुँदैनन्, सबै गीतहरूमा ‘देशले रगत मागे मलाई बलि चढाऊ’ भन्ने जस्तो हुँदैनन् । मनोरञ्जनको साधन हो गीत र गायक यसका माध्यम हुन् । र यो समाजमा, यस देशमा प्रगतिशील, क्रान्तिकारीहरू मात्र बस्दैनन् । बिन्दास तरिकाले जीवन बिताउनेहरू पनि यही समाजमा छन् । हरेक चीजमा विचार लादेर हिँड्नु सही पनि हैन । भिटेन हुन् वा दुर्गेश, यी सबै नेपालीका गायक हु्न् र नेपाली हामी मात्र हैनौं नि !

के भजनमण्डलीहरू मात्रै यस राज्य व्यवस्थाका असली संगीतकर्मी हुन् त ?

विगतको नजीर हेरियो भने पनि ओली सरकारले गायकहरूसँग राम्रो व्यवहार गरिरहेको छैन । ल, मानौं भिटेन र दुर्गेश त छाडा भए रे, तर चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ बोलको व्यङ्ग्यात्मक गीतले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा खैलाबैला मच्चिएको थियो र सरकारको आफ्नै प्रत्यक्ष संलग्नता नदेखाएर चोरबाटोबाट उक्त गीतलाई यूट्युबबाट हटाएका थिए । वाइडबडी काण्ड, ३३ किलो सुनकाण्ड लगायतका विषयलाई समेत व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको यो गीत के प्रगतिशील थिएन र ? गीतमा प्रधानमन्त्री ओलीप्रति पनि कडा व्यङ्ग्य गरिएको थियो । काम केही नगरेको, ठूला–ठूला भाषण मात्र गरेको, स्वर्ग जस्तो देशमा ‘यमराजको शासन’ चलेको जस्ता शब्द गीतमा प्रयोग गरिएका थिए ।

यस गीतका विषयमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र समेत छलफल चलेको थियो । त्यस गीतका बारेमा व्यापक जनसमर्थन हुँदाहुँदै पनि त्यो गीत यूट्युबबाट हटाउन बाध्य भए पशुपति शर्मा । भन्दाखेरी शासकहरूलाई जुन गीत मन पर्छ त्यो गीत, अरू छाडा ? यो कदापि हुन सक्दैन । हाससालै कलाकारितासँगै जोडिएको अर्को खबर पनि आएको छ– सिस्नुपानी नेपालले हरेक वर्षको तिहारमा आयोजना गर्ने हास्यव्यंग्यात्मक ‘देउसी–भैलो’ मा यस वर्ष व्यंग्यकवि शैलेन्द्र सिम्खडाको प्रस्तुति रहने छैन । यसपालि माथिबाट दबाब आएको भन्दै आयोजकले आफूलाई प्रस्तुतिबाट वञ्चित गराएको सिम्खडाले बताएका छन् ।

सिम्खडाले शासकहरूको राम्रै हुर्मत काढ्ने गर्थे । के भजनमण्डलीहरू मात्रै यस राज्य व्यवस्थाका असली संगीतकर्मी हुन् त ? (लोकान्तर डटकमबाट)