कुलमानको सुखद सन्देश : ढुक्कसँग दीपावली मनाउनूहोस्, बत्ती जाँदैन !

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् भार प्रेषणमा कुनै समस्या नरहेको भन्दै बिजुली जाने डरबाट मुक्त भएर दीपावली मनाउन सुखद सन्देश प्रवाह गरेका छन् । विद्युत् प्रसारणमा कुनै समस्या नरहेको बताएका हुन् । ‘आज त्यस्तो विशेष केही छैन, सबै नर्मल छ,’ घिसिङले भने, ‘दौडधूप गर्नुपर्ने केही देखिएको छैन अहिलेसम्म ।’

घिसिङले विद्युत् भार हामीले व्यवस्थित गरिरहेको र असामान्य परिस्थिति कहीँ देखानपरेको उल्लेख गरे । ‘परिस्थिति एकदम कम्फर्टेबल छ, कहीँकेही प्राविधिक समस्या आयो, ट्रान्सफर्मरहरू बिग्रिए वा जले भने त्यतिबेला समस्या आउने हो,’ उनले भने, ‘अहिलेसम्मको स्थितिमा त्यो सम्भावना पनि न्यून देखिएको छ । सबस्टेसनहरू सबै ठीक छ ।’

घिसिङले सबैलाई ढुक्क हुन आग्रह गरे । ‘जनता ढुक्क भए हुन्छ, आज लाइन जाँदैन,’ उनले भने, ‘आज दिउँसो सबस्टेसन घुम्छौं । समस्या भए आइडेन्टिफाइ गर्छौं । अनि समाधान गर्छौं।’ वर्षौंसम्म लोडसेडिङको मार खेपेका नेपाली त्यो पीडा अझै बिर्सिएका छैनन् । विगत केही वर्षदेखि नियमित लोडसेडिङ भने हटेको छ । कुलमानकै कारण लोडसेडिङ हटेको मान्नेहरू कम छैनन् ।