‘त्यो केटी त लास्टै चालु छे’

केही युवकहरु चियापसल अगाडि बसेर चियाको चुस्की र चुरोटको सर्कोसँगै गफिँदै थिए । सडकमा एउटी युवती हिँड्दै गरेकी देखिइन् । एउटाले आफ्ना साथीहरुलाई त्यता हेर्न संकेत गर्यो । सबैले त्यतै हेरे । एउटाले प्याच्च भन्यो ‘ए त्यो केटी ? त्यो त लास्टै चालु छे ।’

यस्ता घटनाहरु कैयौं चोकका चियापसलअगाडि भइरहेका थिए, भइरहेका छन् र हाम्रो समाजलाई हेर्दा प्रस्ट छ भविष्यमा पनि भइरहनेछन् । हाम्रो सामाजिक संरचना नै त्यस्तै भइसकेको छ । समाजमा युवकहरुले यस्तै संस्कार सिकिरहेका छन् । नयाँ पुस्ता पनि यस्तै संस्कारमा अभ्यस्त हुँदैछन् । महिलालाई उपभोग्य वस्तुको रुपमा हेर्ने संस्कारबाट सुरु भएको यो सिलसिला आफूले चाहेको नपाएपछि खोट लगाउनेमा पुगेर अन्त्य हुने गरेको छ ।

एकपटक एउटा स्यालले बाटोमा हिँड्दै गर्दा एउटा रुखमा अंगुर फलेको देख्यो । अंगुर केही उचाइमा थियो । स्यालले उफ्रेर अंगुर टिप्ने प्रयास गर्यो तर सकेन । स्यालले निकै बेर प्रयास गर्यो तर केही सीप लागेन । अन्त्यमा हार खाएपछि स्यालले ‘यस्तो अमिलो अंगुर के खानु’ भनेर हिँड्यो । हाम्रो समाजमा महिलामाथि लगाइने यसप्रकारका ट्यागहरु त्यही स्यालको नियति भोगेका पुरुषहरुले लगाएका हुन् ।

‘चालु’ अर्थात यौ’नका लागि सहजै उपलब्ध हुने महिला । यो ट्याग धेरै महिलाहरुलाई लाग्ने गरेको छ । हुन सक्छ यसरी ट्याग लाग्नेहरुमध्ये कुनै कुनै अपवादको रुपमा साँच्चै ‘चालु’ पनि थिए होलान् । तर, सीमित अपवादको रुपमा पाइने त्यस्ता महिलाको ट्याग जोसँग रिस उठ्यो उसैलाई लगाइदिने संस्कार नै बनिसकेको छ ।

यसरी सडकछेउ बसेर ‘चालु’को ट्याग लगाउनेहरु त्यहाँसम्म त्यसै पुगेका हुँदैनन् । सुरुमा उनीहरु ट्याग लगाउँदैनन् बरु ती महिलालाई भेटेपछि नजिकिने प्रयास गर्छन् । नजिकिँदै गएपछि आफ्नो इच्छा पूरा गर्ने प्रयासमा तल्लीन हुन्छन् । आफ्नो चाहना पूरा गराउन हरतरहको प्रयास गर्छन् । यदि प्रयासमा सफल भए ठिकै छ नभए ट्याग लगाइदिन्छन् । यो ट्याग महिलाको चरित्रको मानक होइन बरु यसरी ट्याग लगाइदिने पुरुषको असफलता र कुण्ठाको अभिव्यक्ति हो ।

केही अर्काथरी हुन्छन् । उनीहरुले ती महिलाबाट कुनै समय आफ्नो इच्छा पूर्ति गर्ने अवसर पाएका हुन्छन् । उनीहरुलाई ती महिलाले उनीहरुमाथि कति विश्वास गरेकी थिइन् र कति जोखिम लिएर त्यति अगाडि बढेकी थिइन् भन्ने कुरामा चासो हुँदैन । बस् आफ्नो इच्छा पूर्तिमा मात्र चासो हुन्छ । जबसम्म इच्छा पूरा भइरहन्छ तबसम्म केही हुँदैन तर जब इच्छा पूरा हुन बन्द हुन्छ त्यसपछि ती महिलामाथि त्यही ‘चालु’को ट्याग लाग्छ ।

चालुतन्त्रको ब्याकफायर

हाम्रो समाजमा कैयौं पुरुषहरुको सोचाइ अझै पनि त्यही ठाउँमै छ । अर्थात्, महिलालाई पायो भने ‘युज’ गर्ने अनि ‘थ्रो’ गर्ने । तर, समयसँगै महिलाहरु कतिसम्म एड्भान्स भइसके भन्ने कतिपयले पत्तै पाउन सकेका छैनन् । हाम्रो समाजमा पछिल्लो समय भइरहेका केही घटनाहरुले पुरुषको यो सोचले कतिसम्म ब्याकफायर गरिसकेको छ भन्ने बुझ्न सकिन्छ ।

हामी पुरुषहरुलाई लाग्छ महिलाहरुले हाम्रो नियत बुझेका छैनन् । तर होइन, महिलाहरु धेरै अगाडि बढिसके । उनहिरुले हाम्रो इन्टेन्सन नबुझ्ने होइन सबै बुझेका छन् । बुझेर पनि हामीलाई त्यो सब दिइरहेका छन् जो हामी चाहन्छौं । किनकि उनीहरुको इन्टेन्सन हामीभन्दा माथि छ । उनीहरु हामीभन्दा धेरै अगाडि ‘चोरमाथिको चण्डाल’ भइसकेका छन् ।

लिभिङ टुगेदरमा लामो समय साथमा बसेका महिलाले पछि बलात्कारको अभियोग लगाउने । पहिले सबैथोक गर्न दिने पछि ब’ला’त्का’रको अभियोग लगाउँछु भनेर ब्ल्या’कमेल गरी पैसा असुल्ने, हनीट्रयापमा पारेर अ’प’हरण गरी पैसा असुल्ने जस्ता घट’नाहरु पछिल्लो समय सार्वजनिक हुन थालेका छन् । यी तिनै चोरमाथिका चण्डालहरुले गरेका हुन् । तर, तीतो सत्य के हो भने यो सबै त्यही चा’लुतन्त्रको ब्याक’फायर हो । उनीहरुलाई त्यो स्थानमा पुर्याउनेहरु तिनै पुरुषहरु हुन् जो पहिले उनीहरुलाई युज गर्ने प्रयासमा थिए ।

ती महिलाहरुले बुझेका छन् – यसले मबाट इच्छापूर्ति गरेपछि मेरो बारेमा चोकका चिया पसलमा गफ लडाउँछ । साथीहरुसँग मेरो अंग प्रत्यंग शब्दको माध्यमबाट प्रदर्शन गर्छ । मलाई सार्वजनिक स्थलमा नङ्ग्याउँछ । यति बुझिसकेका ती महिलाले आफू सार्वजनिक ठाउँमा ना’ङ’गिनुभन्दा त्यही पुरुषलाई नै न’ङ्ग्या’उने सोच बनाउँछन् । यसैको परिणाम नयाँ किसिमका अपराधको वृद्धि भएको छ ।

यौ’नको व्यापारमा लागेका धेरै महिलाहरु पहिले शो’षणमा परेकाहरु छन् । उनीहरु पहिले यौ’नलाई होइन आफ्नो सीप, क्षमता प्रयोग गरेर कमाइ गर्ने प्रयासमा थिए । तर, जहाँ जाँदा पनि पुरुषहरुको गिद्धेदृष्टि परेपछि उनीहरु बाध्य भएर यौ’नको व्यापारमा लागेका हुन् । आखिर आफ्नो शरीरलाई कुनै न कुनै पुरुषको खेलौना बनाउन बाध्य हुनै पर्छ भने किन बा’ध्यतामा अरुको उपभोगको बस्तु बनिदिने । यसैपनि कसैको उपभोग्य वस्तु बन्नु नै छ भने उपभोग गर्न दिएवापत आफूले लाभ किन नलिने ? यौ’नधन्दामा लागेका कैयौं महिलाहरुको वास्तविकता यही हो । पुरुषले सित्तैमा शो’षण गर्ने र त्यो शो’षणबाट उम्किने बाटो नपाएपछि उनीहरुले बाध्य भएर त्यसैलाई पेशा बनाएका हुन् ।

जवानी र पैसाको कारोबार

पहिलेपहिले पुरुषहरुले महिलालाई ललाइफकाइ विभिन्न प्रलोभन दिएर लाभ लिन्थे । समयसँगै यसको रुप फेरिएको छ । अहिले यसको कारोबार हुन्छ । कारोबार अर्थात व्यापार । व्यापार पैसा लिएर मात्र हुँदैन, विभिन्न लाभका पदमा नियुक्ति वा राम्रो अवसर प्राप्तिका लागि पनि जवानी बिक्री भइरहेका छन् ।

समाजमा महिलाले पुरुषलाई र पुरुषले महिलालाई सम्मान गर्ने संस्कारको अन्त्य हुँदैछ । महिलाबाट जवानी लिने र पुरुषबाट पैसा असुल्ने संस्कार विकसित भइरहेको छ । पहिले पहिले पुरुषले महिलालाई वस्तु ठान्थे अहिले महिलाले पुरुषलाई पनि वस्तु ठान्न थालेका छन् । पुरुषलाई वस्तु मात्र होइन मुर्गा ठान्न थालिसके, सुनको अण्डा दिने मुर्गा । यो सबै एकले अर्कालाई गर्नुपर्ने सम्मान हराउँदै गएको र जसरी हुन्छ लाभ लिने संस्कार मौलाउँदै गएको संकेत हो ।

……..

केही वर्षअघि म साथीहरुसँग गफिँदै थिएँ । त्यही बेला एउटी युवती अगाडिबाट हिँडिन् । मेरो एउटा साथीले भन्यो ‘यो केटी त लास्टै चालु छे ।’ मेरो अर्को साथीलाई राम्रो रिस उठेछ ।

उसले जंगिँदै सोध्यो –‘तैंले केही गरेको छस् ?’

‘छैन ।’

‘अरु कसैले केही गरेको देखेको छन् ?’

‘छैन ।’

‘त्यसो भए भुत्राको चालु ?’

दुर्भाग्य, मेरो जंगिने साथीजस्ता व्यक्तिहरु हाम्रो समाजमा निकै कम छन् । यही कमीका कारण अहिले जवानी बिक्रीको वस्तु बनेको छ ।