माथिको दबाबपछि सिस्नोपानीले हटायो शैलेन्द्र सिम्खडाको देउसी प्रस्तुति

काठमाडौं। चर्चित हाँस्य कलाकार शैलेन्द्र सिम्खडालाई सिस्नोपानी नेपालले देउसी भैलो टिमबाट हटाएको छ । सिम्खडा विगत दुई वर्षदेखि सिस्नोपानी टिमले तिहारको अवसरमा आयोजना गर्ने देउसी भैलोमा व्यंग्यात्मक प्रस्तुति दिइरहेका थिए ।

सरकारका उच्च पदस्थ अधिकारीहरु उनको व्यंग्यबाट रुष्ट बनेको भन्दै यसपटक टिममा सहभागी भए कार्यक्रम हेर्न नआउने जानकारी गराएपछि सिस्नोपानीले उनलाई टिमबाट हटाएको हो ।

‘म दुई वर्षदेखि सिस्नोपानीको देउसी कार्यक्रममा व्यंग्यात्मक प्रस्तुति दिइरहेको थिएँ,’ सिम्खडाले भने, ‘यसपटक पनि उहाँहरुले बोलाउनु भएको थियो । यतिबेला आएर माथिको आदेशका कारण तपाईको प्रस्तुति राख्न सकिएन भन्दै उहाँहरुले नआउन भन्नुभएको छ । त्यसकारण म प्रस्तुतिका लागि जान्नँ ।’

सिम्खडा विशेषगरी हाँस्य व्यंग्य कविताका लागि चर्चित छन् । उनले गत वर्ष प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहालसहितका नेता र उच्च पदस्थ अधिकारी सामू उनीहरुको झाँको झार्नेगरी व्यंग्यात्मक प्रस्तुति दिएका थिए ।

स्रोतका अनुसार उनको सो व्यंग्यबाट रुष्ट बनेका नेताहरुले नै सिम्खडाको प्रस्तुति भए आफूहरु नआउने बताएपछि सिस्नोपानीले देउसी भैलोमा उनको प्रस्तुति हटाइएको बताएको हो । यस विषयमा सिस्नोपानी नेपालले भने कुनै प्रतिक्रिया दिएको छैन ।