धुर्मुस सुन्तलीले निर्माण गर्दै गरेको रंगशालामा कुलमान घिसिङ

चितवन। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनको भरतपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् ।

धुर्मस सुन्तली फाउण्डेशनको पहलमा निर्माण अघि बढेको रंगशालास्थल भरतपुर महानगरपालिका १५ मा पुगेका प्रमुख कार्यकारी निर्देशक घिसिङले निर्माण प्रगतिको बारेमा जानकारी लिए ।फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले रंगशाला निर्माणका बारेमा घिसिङलाई जानकारी गराएका थिए । अध्यक्ष कट्टेलले विस्तृत परियोजना प्रति वेदन (डीपीआर) तयार हुनुअघिका कामहरु सबै तीब्र गतिमा अघि बढाइएको जानकारी दिए ।

रंगशाला निर्माणस्थलको कम्पाउण्ड घेर्ने, गोदाम तथा आवास भवन निर्माण, रंगशालास्थलमा भएका रुखहरु हटाउने, जरा उखेल्ने, ग्रेडिङ गरेर सम्याउने, डीपीआर लगायतका कामहरु अघि बढिरहेको जानकारी कट्टेलले घिसिङलाई गराए।

रंगशालास्थल निरीक्षण पछि कुरा गर्दै विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले अन्र्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणमा सवै नेपालीहरूले आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्नुपर्ने बताए । घिसिङले रंगशाला निर्माणस्थलको छनोट उपयुक्त रहेको भन्दैं तोकिएकै समयभित्र रंगशाला निर्माणको काम सकेर जनतालाई खुसीको सञ्चार गराउन निर्माण पक्षलाई आग्रह गरे ।