कर्मचारी साथीहरु, कुलमान बन्न कुराले हैन, कामले प्रतिस्पर्धा गर्नुस् : पूर्वमन्त्री भुसाल

काठमाडौं। नेकपाका स्थायी समिति सदस्य एवं पूर्वमन्त्री पम्फा भुसालले निजामती कर्मचारीहरुलाई कुलमान घिसिङले जस्तै जनताको पक्षमा काम गर्न सुझाएकी छिन्। बुधबार दिउँसो नेपाल राष्ट्रिय कर्मचारी संगठन, निजामती केन्द्रीय समितिले आयोजना गरेको चियापानमा बोल्दै पूर्वमन्त्री भुसालले उक्त कुरा बताएकी हुन्।

चियापान समारोहलाई सम्वोधन गर्दै भुसालले भनिन्, ‘जनताप्रति इमान्दार हुने हो भने धेरै काम गर्न सकिन्छ। हामी सुशासन र समृद्धिको यात्रामा छौं। राजनीतिक नीति र नेतृत्वको पनि भूमिका छ। तर, एउटा कुलमान घिसिङको प्रयासले पनि ठूलो परिवर्तन आउँदो रहेछ। तपाईहरु पनि कुलमानको जस्तै जनतालाई सेवा दिन र नतिजा निकाल्न प्रतिस्पर्धा गर्नुस्।’

नेतृ भुसालले थपिन्, ‘कुलमानले विद्युत प्राधिकरणको छवि राम्रो बनाउनुभयो। त्यस्तै लोकबहादुर थापा भन्ने कर्मचारीले पनि आफ्नो कार्यकालमा राहदानी विभागमा राम्रो सुधार गर्नुभयो। इमान्दारिता र जनताप्रति जवाफदेहिता भएमा धेरै कुरा गर्न सकिन्छ। तपाईहरु पनि राम्रो कामका लागि प्रतिस्पर्धा गर्नुस्। तपाईहरु सबैलाई यही शुभकामना दिन चाहन्छु।’

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलले ट्रेड यूनियन आन्दोलनले पेशागत मर्यादा, कर्मचारीको सुरक्षा र सुशासनमा सघाउ पुग्ने बताए। त्यस्तै नेपाल राष्ट्रिय कर्मचारी महासंघका सल्लाहकार संयोजक मोहनमान स्वाँरले कर्मचारीहरुको मनोबल बढाएर मात्र विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल हुने बताए।

चियापानमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका राष्ट्रिय अध्यक्ष हरिबहादुर रावलले कर्मचारी आन्दोलनलाई मर्यादित र शक्तिशाली बनाउनुपर्ने आवश्यकता औल्याए। त्यस्तै अर्का वक्ता निजामतीका उपाध्यक्ष अम्वादत्त भट्टले कर्मचारी आन्दोलनले राजनीतिक नेतृत्वको लक्ष्य र संकल्पमा बलियो साथ दिनुपर्ने बताए।

पूर्वमाओवादीनिकट निजामती कर्मचारीहरुको संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठनले दशैं, तिहार, नेपाल सम्वत्, छठ लगायतका पर्वहरुको अवसर पारेर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा निजामती कर्मचारीहरुको उल्लेख्य उपस्थिति थियो।