नागरिकता प्रकरणमा सांसद कँडेल फर्जी ठहरे जे’ल पठाउनू – कांग्रेस

काठमाडौ। पूर्व गृहराज्य मन्त्री एवं संघीय सांसद देवेन्द्रराज कँडेलको दोहोरो नागरिकताका विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति नेपाली कांग्रेसले चासो देखाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कँडेलको दोहोरो नागरिकताकाका विषयमा निष्पक्ष अनुसन्धानबिना नै किटान गरेर समाचार लेख्न नहुने भन्दै सचेत गराउनुभएको छ ।

साथै उहाँले नागरिकतामाथि प्रश्न गर्दा हजार पटक सोचेर मात्रै कलमजीवीहरुले आफ्नो विश्वसनीयता जोगाउन कलम चलाउन पनि सुझाव पनि दिनुभएको छ । ‘व्यक्तिका कमजोरीमाथी खुलेरै बोलौं तर नागरिकतामाथि नै प्रश्न गर्नुअघि हजार पटक सोचेर गरौं, उहाँले भन्नुभएको छ, ‘यो राजनीतिकर्मीको विषय मात्रै होइन कलमजीवीहरुको विश्वसनीयताको प्रश्न पनि हो ।’

साथै उहाँले नागरिकताका विषयमा प्रश्न उठेपछि सांसद कँडेलले तथ्य प्रस्ट्याउने र अनुसन्धानलाई सघाउने विश्वास पनि लिनुभएको छ । भारतको उत्तर प्रदेशकाे महाराजगञ्ज जिल्लाको ठुठीबारीस्थित राधाकुमारी इन्टरकलेज व्यवस्थापन समितिको अध्यक्षमा चुनाव लड्दै विजयी बनेपछि कँडेल भारतीय नागरिक रहेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।

कांग्रेसले भने त्यो कलेज राणा शासन कालमा नै उहाँको हजुरआमा राधादेवीले नेपालमा खोल्न नपाएपछि नेपालीलाई पढाउनकै लागि सीमापारि गएर खोल्नु भएको र अहिले तेस्रो पुस्तामा आइपुग्दा त्यसको जिम्मेवारी देवेन्द्रराज कँडेलल लिनुभएको जनाएको छ ।

वि.सं.२०१५ मा देवेन्द्रराज कँडेलका बुवा पृथ्वीराज कँडेल कांग्रेसबाट सांसद बनेको स्मरण गर्दै नागरिकताको विषयमा प्रश्न उठाउँदा वास्तविकता बुझ्न पनि आग्रह गरेको छ । कांग्रेस प्रवक्ता शर्माले भन्नुभएको छ, ‘निष्पक्ष अनुसन्धान नगरी किटानी नलेख्नु, फर्जी ठहरे जे’ल पठाउनु ।’