‘अब साढे ३ वर्ष मात्रै पर्खिनुहोस्, काठमाडौंबाट छिरेर हेटौंडा निकालिन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सुरुङमार्गको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । सोमबार नागढुंगा सुरुङमार्गको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले समयमै काम सक्ने विश्वास व्यक्त गरे ।

उनले अघि भने, ‘अब हामी मात्र साढे ३ वर्ष पर्खिनुपर्छ । त्यसपछि हामीले एउटा गीत हेरेका हौंला, काठमाडौंबाट यसो छिरेर उता हेटौंडा निकालेको देखाउँथ्यो । उताबाट छिरेर उता निक्लेको त ४२ महिनापछि भइहाल्छ ।’

टाखा–छहेर, बेत्रावती –स्याफ्रुवेशी सुरुङमार्गलाई पनि अगाडि बढाउन लागिएको उनले बताए । प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पालामा इतिहासमा कहिल्यै नभएका काम भएको दाबी गरे ।

१६०० किलोमिटर त सडक कालोपत्रे मात्र गरिएको, २४३ पक्की पुल र दुई सय हाराहारी झोलुंगे पुल बनेको बताए । ‘फास्ट ट्याक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ,’ उनले भने ।