यसपालीको तिहार सबैतिर झिलिमिली, बत्तिको चिन्ता नगर्नुहोस्

काठमाडौं। झिलिमिली’ को चाड भनेर चिनिने तिहार नजिकि सकेको छ । अबको केही दिनमै तिहारले छपक्क छोप्दै छ । तिहारमा सबैतिर झिलिमिली बत्ती बाल्ने गरिन्छ । परम्परागत दीयो, दियालो र मैनबत्तीले घरआँगन सजाउने परम्परा भए पनि पछिल्लो समय बढ्दो आधुनिकतासँगै हाम्रो संस्कृतिमा समेत बदलाव आएको छ । अहिले तिहारमा परम्परागत दीयो, दियालोभन्दा पनि आधुनिक बत्तीहरुको प्रयोग र माग उच्च हुन थालेको छ । यसले विद्युत खपतको माग समेत उच्च गराएको छ ।

तिहारलाई विद्युत खपत र लोडका हिसाबले विद्युत व्यवस्थापनको मुख्य चुनौतीको समय मानिन्छ । तुलनात्मक रुपमा सामान्य दिनको तुलनामा तिहारको समय विद्युत खपतको दर झण्डै ८० प्रतिशतले बढ्ने गर्छ । विशेषगरी लक्ष्मी पूजाको दिन विद्युत खपत उच्च रहन्छ । लक्ष्मी पूजाको दिन देशैभर करिब १३ सय मेगावाटसम्म विद्युत खपत हुन सक्ने नेपाल विद्युत प्राधिकरणको अनुमान छ ।

नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले प्राधिकरणसँग उपलब्ध ९ सयदेखि एक हजार मेगावाटले नधान्ने अवस्था आए नपुग दुई सयदेखि तीन सय मेगावाट विद्युत भारतबाट आपूर्ति गर्ने तयारी गरिएको छ । घिसिङका अनुसार तिहारको समयमा विद्युत खपत, लोड र विद्युत वितरणमा आउन सक्ने सम्भावित समस्यालाई मध्यनजर गर्दै कर्मचारी स्ट्यान्डबाई राखिने बताएका छन् ।

तिहारका बेला देशमा कलकारखाना तथा उद्योगधन्दाहरु बन्द हुने हुँदा विद्युत खपतसमेत कम हुने उनको भनाइ छ । त्यसैले तिहारमा नेपालीहरुले जति बाले पनि विद्युत वितरणमा समस्या नआउने घिसिङको भनाइ छ । तिहारलाई नै लक्षित गर्दै प्राधिकरणले काठमाडौँमा विशेष संयमितता अपनाएको र सोही बमोजिम कार्य व्यवस्था मिलाइएको घिसिङले जानकारी दिएका छन् ।