नेपाल कब्जा गर्ने भारतीय साम्राज्यवादको सपना चीनकै कारण सफल हुन सकेको छैन: नेकपा मसाल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महामन्त्री मोहनविक्रम सिंहले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणले भारतीय पक्षबाट लगातार भैरहेको हस्तक्षेपबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर प्रकारको खतरा परिरहेको अवस्थामा सकारात्मक महत्व राख्ने बताएका छन्।

सिंहले शनिबार एक विज्ञप्ति मार्फत चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागत गर्दै चीनसितको मैत्री सम्बन्धले नेपालको लागि सकारात्मक महत्व राख्ने दावी गरेका हुन्।

“चीनको कम्युनिष्ट पार्टीले दक्षिणपन्थी संशोधनवादी दिशा लिइसकेको छ र चीन अब साम्राज्यवादी देश भइसकेको छ । तैपनि एकातिर, नेपालको भूराजनीतिक स्थिति र अर्कातिर, भारतीय साम्राज्यवादद्वारा नेपालमाथि लगातारको हस्तक्षेप तथा त्यो कारणले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा पुगिरहेको गम्भीर प्रकारको खतराको पृष्ठभूमिमा चीनसितको मैत्री सम्बन्धले नेपालको लागि सकारात्मक महत्व राख्दछ भन्ने हाम्रो निश्चित मत छ । चीनको कम्युनिष्ट पार्टीले लिएको दक्षिणपन्थी संशोधनवादी दिशा र त्यसको साम्राज्यवादी स्वरूपको विरोधको नीतिलाई सुरक्षित राख्दै चीनसितको मैत्रीपूर्ण सम्बन्धको विस्तारको नीतिमाथि हाम्रो पार्टीले जोड दिंदै आएको छ । त्यसैले चीनको राष्ट्रपतिको नेपाल भ्रमणलाई पनि हाम्रो पार्टीले स्वागत गर्दछ ।”,विज्ञप्तिमा सिंहले भनेका छन्।

विज्ञप्तिमा सिंहले भारतीय साम्राज्यवादको नेपालप्रतिको नीति अत्यन्त आपत्तिजनक रहँदै आएको अवस्थामा चिनियाँ सम्बन्धले नेपालको राष्ट्रियता तथा विकास समेतका लागि बढी महत्व राख्ने पनि उनले दावी गरेका छन्।

नेपालको यो स्वतन्त्र अस्तित्व भारतका शासक वर्गहरुलाई पहिला मात्र नभई अहिले पनि मन नपरेको अवस्थामा उत्तरमा चीनको उपस्थितिकै कारण सिधै र प्रत्यक्ष रुपले हमला गरेर भारतले नेपालमाथि कब्जा जमाउन नसकेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।

विज्ञप्तिको पूर्णपाठ :

चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका अवसरमा नेकपा (मसाल)ले हार्दिक स्वागत गर्दछ ।

चीनको कम्युनिष्ट पार्टीले दक्षिणपन्थी संशोधनवादी दिशा लिइसकेको छ र चीन अब साम्राज्यवादी देश भइसकेको छ । तैपनि एकातिर, नेपालको भूराजनीतिक स्थिति र अर्कातिर, भारतीय साम्राज्यवादद्वारा नेपालमाथि लगातारको हस्तक्षेप तथा त्यो कारणले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा पुगिरहेको गम्भीर प्रकारको खतराको पृष्ठभूमिमा चीनसितको मैत्री सम्बन्धले नेपालको लागि सकारात्मक महत्व राख्दछ भन्ने हाम्रो निश्चित मत छ । चीनको कम्युनिष्ट पार्टीले लिएको दक्षिणपन्थी संशोधनवादी दिशा र त्यसको साम्राज्यवादी स्वरूपको विरोधको नीतिलाई सुरक्षित राख्दै चीनसितको मैत्रीपूर्ण सम्बन्धको विस्तारको नीतिमाथि हाम्रो पार्टीले जोड दिंदै आएको छ । त्यसैले चीनको राष्ट्रपतिको नेपाल भ्रमणलाई पनि हाम्रो पार्टीले स्वागत गर्दछ ।

माक्र्सवादी–लेनिनवादी सिद्धान्तले प्रतिक्रियावादी वा दुश्मन शक्तिहरूलाई सधैँ एउटै श्रेणीमा राखेर हेर्ने गर्दैन र परिस्थिति वा उनीहरूका नीति वा भूमिकामा देखापर्ने अन्तर अनुसार उनीहरूप्रति बेग्लाबेग्लै नीति अपनाउनुपर्ने आवश्यकतामा जोड दिन्छ । सोभियत सङ्घमा फासिस्ट हमलाका बेलामा स्तालिनले अमेरिकी, ब्रिटिश वा फ्रेञ्च साम्राज्यवादप्रति तथा माओले जापानी हमलाका सन्दर्भमा च्याङकाईसेकसित अपनाएका एकताका नीतिहरूले त्यही कुरा बताउँछन् । नेपालमा पनि हाम्रो पार्टीले बेग्लाबेग्लै परिस्थितिमा बेग्लाबेग्लै प्रतिक्रियावादी शक्तिहरूले अपनाउने बेग्लाबेग्लै नीतिहरूका सन्दर्भमा उनीहरूप्रति बेग्लाबेग्लै नीतिहरू अपनाउने गरेको छ । तात्कालीक राजा महेन्द्रको कोदारी राजमार्ग र पूर्वपश्चिम राजमार्ग निर्माणका कार्यहरूलाई समर्थन, महाकाली सन्धीका विरुद्धको सङ्घर्षमा राप्रपासित सहकार्य, २०४६ सालमा निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाका विरुद्धको सङ्घर्षमा ने.का. समेतसित कोआर्डिनेशन, २०६२–६३ को आन्दोलनमा मधेशवादीहरू समेतसित सहकार्य आदिले हाम्रो त्यही प्रकारको नीतिलाई बताउँछ । त्यस प्रकारको नीतिको अनुशरण गर्दै अहिले हामीले भारतीय साम्राज्यवाद र चिनियाँ साम्राज्यवाद प्रतिको नीतिमा केही अन्तर गरेका छौँ । त्यस अनुसार चिनियाँ साम्राज्यवादसितको सम्बन्धले नेपालको राष्ट्रियता तथा विकास समेतका लागि बढी महत्व राख्दछ भने भारतीय साम्राज्यवादको नेपाल प्रतिको नीति अत्यन्त आपत्तिजनक रहँदै आएको छ ।

ब्रिटिश शासनबाट अलग भएपछि भारतले नेपाललाई भारतीय सङ्घमा सामेल गर्ने नीति अपनाएको थियो । तत्कालीन भारतीय उपप्रधान र गृहमन्त्री सरदार पटेलको अभिव्यक्तिबाट त्यो कुरामा कुनै शङ्का रहन्न । तर त्यसपछि सात दशकसम्म पनि नेपालको स्वतन्त्र राष्ट्रको रूपमा अस्तित्व कायम छ भने, त्यो नेपाली जनताको राष्ट्रियताप्रतिको उच्च प्रकारको सतर्कता र राष्ट्रिय आन्दोलन, अन्तर्राष्ट्रिय परिस्थितिका साथै उत्तरमा चीनको उपस्थितिले पनि महत्वपूर्ण काम गरेको छ । तर नेपालको यो स्वतन्त्र अस्तित्व भारतका शासक वर्गहरूलाई कहिल्यै पनि सह्य रहेको थिएन र अहिले पनि छैन । खास गरेर सरदार पटेललाई आफ्नो आदर्श मान्ने मोदी सरकारको नेपाल प्रतिको उनको (पटेलको) अधुरो सपना पूरा गर्नु अहिले पनि उनीहरूको रणनीतिक उद्देश्य रहेको छ ।

उत्तरमा चीनको उपस्थितिले गर्दा नेपालमाथि सिधै र प्रत्यक्ष रूपले हमला गरेर नेपालमाथि कब्जा जमाउनु भारतका लागि सजिलो भएको छैन । तैपनि भारतले अन्य तरिकाद्वारा नेपालमा आफ्नो आधिपत्य कायम गर्न गत सात दशकदेखि नै लगातार र योजनावद्ध प्रकारले प्रयत्न गर्दै आएको छ । त्यस प्रकारका तरिकाहरू मध्ये नेपालको राजनीति, प्रशासन, सुरक्षा, परराष्ट्रनीति, अर्थ, जलसम्पदा आदिमा अतिक्रमण बढाउँदै लैजाने, नेपालको संविधानलाई आफ्नो अनुकूल बनाउन दवाव दिने, ठूलो सङ्ख्यामा भारतीयहरूलाई नेपालको नागरिक बनाएर नेपालमा वास्तविक नेपालीहरूलाई नै अल्पसङ्ख्यक बनाउने र नेपालको संसदमा आफ्नो बहुमत गराउने, नेपालको तराईलाई नेपालबाट अलग गराउने र त्यसलाई भारतमा मिलाउने, नेपालको पारवहनलाई अवरुद्ध गरेर तेस्रो देशहरूसितको व्यापारमा बाधा पुर्‍याउने आदि उल्लेखनीय छन् । नेपाललाई आफ्ना नीतिहरू मान्नका लागि दवाव दिन भारतले नेपालका विरुद्ध बारम्बार नाकाबन्दी पनि लगाउने गरेको छ । त्यस प्रकारको नाकाबन्दीका विरुद्ध चीनसितको सम्बन्ध वा त्यससित पारवहन सम्बन्धको विकासले पनि हामीलाई धेरै मद्दत पुर्‍याउन सक्छ । अर्काशब्दमा, भारतीय नाकाबन्दीका विरुद्ध चीनसित पारवहन सम्बन्धको विकास हाम्रो लागि ‘लाइफ लाइन’ (जीवन रेखा) सावित हुनसक्दछ ।

भारतले यो कुरा राम्ररी बुझेको छ कि नेपालको चीनसितको सम्बन्धको विस्तार भयो वा सुदृढ भयो भने सामान्यतः त्यसका (भारतका) नेपाल प्रतिका हस्तक्षेप र अतिक्रमणका नीतिहरू तथा विशेषतः नाकाबन्दीका प्रयत्नहरू सफल हुन सक्ने छैनन् । त्यसैले भारतको नेपालको चीनसितको सम्बन्धको विस्तारमा सधैँ बाधा हाल्ने सुनियोजित प्रयत्न रहँदै आएको छ । त्यसका लागि त्यसले नेपालका विभिन्न राजनीतिक पार्टी वा सरकारहरूमाथि दवाव दिंदै आएको छ र कतिपय अवस्थामा चीनसितको सम्बन्धको विस्तारका लागि पहल गरेकाले कैयौँ सरकारहरूलाई अपदस्थ गर्ने षडयन्त्र पनि गर्ने गरेको छ । त्यस प्रकारको खतरालाई मोलेर पनि ओली सरकारले चीनसितको सम्बन्धको विस्तार गर्न वा चिनियाँ राष्ट्रपतिलाई नेपालमा बोलाउन जुन पहलकदमी गरेको छ, त्यसलाई (ओली सरकारलाई) धन्यवाद दिन चाहन्छौँ ।

चीनको राष्ट्रपतिको भ्रमणको बेलामा चीनले नेपाललाई के कति सहयोग गर्ने सम्झौताहरू हुन्छन् । तिनीहरूको आफ्नै महत्व ता छँदैछ, तर त्योभन्दा महत्वपूर्ण कुरा यो हो ः तिनीहरूलाई नेपाल सरकारले कतिसम्म र कहाँसम्म सफलतापूर्वक उपयोग गर्न सक्दछ ? वर्तमान सरकारको सम्पूर्ण चरित्र, कार्यशैली तथा अहिलेसम्मका सबै अनुभवहरूमाथि विचार गर्दा त्यसको (सरकारको) कार्यप्रणाली सन्तोषजनक रहने गरेको छैन । त्यही प्रकारले अहिले चीनबाट प्राप्त हुने सहयोगको पनि सही प्रकारले उपयोग हुने कुरामा आशङ्का नै छ ।

नेकपा (नेकपा)ले चीनको पार्टीसित भाइचारा सम्बन्ध बढाउने निर्णय गरेको छ । नेकपा र चीनको पार्टी दुवै दक्षिणपन्थी संशोधनवादी सङ्गठनहरू हुन् । त्यस कारण उनीहरूका बीचको सम्बन्धको विस्तारले सैद्धान्तिक दृष्टिकोणले कुनै अर्थ र महत्व राख्दैन । तैपनि उनीहरूका बीचको सम्बन्धको विकासले राजनीतिक रूपमा चीनसितको सम्बन्धको विस्तारमा जेजति मद्दत पुग्नेछ, त्यो स्वागत योग्य कुरा हुनेछ । तर त्यस प्रकारको सम्बन्धको विकास सजिलो हुने छैन । किनभने, एकातिर, भारतीय साम्राज्यवाद र सबै साम्राज्यवादी देशहरू र, अर्कातिर, नेपालका पनि सबै प्रतिक्रियावादी र भारतपरस्त तत्वहरूले त्यस प्रकारको सम्बन्धको विकासमा बाधा पुर्‍याउनको लागि सकेसम्म प्रयत्न गर्नेछन् । त्यो क्रममा स्वयं नेकपाभित्रको एउटा पक्ष पनि त्यस प्रकारको प्रभावमा परेर चीनसितको सम्बन्ध विस्तारको विरुद्ध उभिन पुग्यो भने, त्यो आश्चर्यको कुरा हुनेछैन । तैपनि नेकपा र चीनको कम्युनिष्ट पार्टीका बीचमा सम्बन्धको विकासका लागि जुन प्रयत्न भएको छ, हामीले त्यसको सफलताको कामना गर्दछौँ । किनभने, त्यसबाट चीनसितको नेपालको सम्बन्धको विस्तारमा मद्दत पुग्नेछ र त्यो पुनः राष्ट्रिय हितमा हुनेछ भन्ने हामीले आशा गरेका छौँ । नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सम्बन्धको विस्तारलेमाथि उल्लेख गरिए झै सैद्धान्तिक दृष्टिकोणले, अर्थात् क्रान्तिकारी सैद्धान्तिक दृष्टिकोणले, कुनै अर्थ र महत्व राख्दैन । त्यसै गरेर त्यो सम्बन्धले नेपालको वा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई पनि कुनै मद्दत नपुग्ने कुरा प्रष्ट छ । तैपनि नेकपाले चीनको पार्टीसितको भाइचारा सम्बन्धको विस्तारको क्रममा चीनको पार्टीबाट दुईवटा शिक्षा लिन विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । प्रथम, चीनको पार्टी दक्षिणपन्थी संशोधनवादी भएपनि त्यसभित्रको उच्च प्रकारको अनुशासनको अभ्यास । द्वितीय, विकासको क्षेत्रमा उनीहरूले गरेको उल्लेखनीय प्रगति । ती दुवै कुराबाट नेकपाले केही शिक्षा लिने र तिनीहरूलाई कार्यान्वयन गर्ने प्रयत्न गरेमा त्यसबाट स्वयं उनीहरूको सङ्गठनलाई धेरै नै मद्दत पुग्नुका साथै देशको विकासमा पनि महत्वपूर्ण योगदान पुग्ने छ ।

मोहनविक्रम सिंह
महामन्त्री