केटी भएँ त्यसैले यस्तो हल्ला चल्यो – सोनिका

काठमाडौं। थाइल्याण्डमा रहँदा कनिका चैसन नाम गरेकी थाई युवतीसँगको सम्बन्धका कारण विवादित बनेका पूर्व युवराज पारस शाहको नाम एक नेपाली यूट्यूबर तथा मोडलसँग जोडिएको छ।

शाहको सोनिका रोकाया नामकी यूट्यूबर तथा मोडलसँग नाम जोडिएको हो।दरवारमार्गको एक रेष्टुरेन्टसहितका केही स्थानमा बाक्लैरूपमा एकसाथ देखिन थालेपछि उनीहरूबीच निकटताका बारेमा चर्चा चलेको हो।

यस्तैमा पूर्व युवराज पारसले सोनिकालाई हार्ले डेबिडसन बाइकको पछाडि राखेर हुँकिएको भिडियो टिकटकमा सार्वजनिक भएपछि सो चर्चा थप गर्माएको हो। चर्चाले विशेषगरी सामाजिक संजाल तातिरहेको छ।

पारसलाई विशेषगरी सोनिकाको पनि लगानी रहेको दबारमार्गस्थित लिक्विड लाउन्जमा धेरैजसो देखिन्छ। सोनिकाले पारससँगका केही टिकटक भिडियो आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्दै आइरहेकी छन्।पूर्व युवराज पारससँग नाम जोडिएको विषयमा कुरा गर्दै सोनिकाले त्यसमा कुनै सत्यता नरहेको र तथ्य नबुझी लेखिएको बताइन्।

‘उहाँको छवि पनि विवादास्पद छ र मेरो पनि। यसको आधारमा यस्तो भनिएको हो। मेरो लाउन्जमा उहाँ आइरहने भएकाले अलि निकट छु। म परिचितहरू सबैसँग उस्तै किसिमको ख्याल ठट्टा गर्छु। अरू धेरैको बाइकमा कफी पिउन गएको छु, साथीका रूपमा। यो पनि त्यस्तै हो’, सोनिकाले भनिन्, ‘एउटा केटा हिँडेको भए यस्तो केही हुँदैन थियो होला। केटी भएँ त्यसैले यस्तो भएको हो। हुन त मेरा राम्रा कुरा लेखिन्न, यस्तै त लेखिने हुन्। मेरो बारेमा मलाई नसोधी लेखिएको छ।’