उपसभामुखलाई यस्तो पद दिने ओली प्रचण्ड सहमति

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्शमा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ। ओलीले सोमबार दाहालसँग यो विषयमा बालुवाटारमा झण्डै दुईघन्टा वार्ता गरे।

ओलीले ६ जना मन्त्री हेरफेर गर्नसक्ने बालुवाटार स्रोतले बतायो। शिवमाया तुम्बाहाम्फेलाई प्रतिनिधिसभाको सभामुखबाट राजीनामा दिन लगाई मन्त्री बनाउने तयारी ओलीको छ। ओलीले सोमबारै उपसभामुखसँग राजीनामाका विषयमा छलफल गरी मन्त्री पदका लागि तयारी अवस्थामा बस्न भनेको स्रोतले बतायो। कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ। यो पद अन्यलाई नछाड्न नेकपाले उपसभामुखलाई राजीनामा गराउन लागेको हो। सभामुख र उपसभामुख एकै दलबाट बन्न नपाइने संवैधानिक व्यवस्था छ।

रिक्त रहेको सभामुख कसलाई बनाउने भन्नेमा सत्तारूढ दल नेकपामा आन्तरिक गृहकार्य थालिएको छ । तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुव्र्यवहार प्रकरणमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका थिए । महराको राजीनामासँगै सभामुख पद रिक्त रहँदै छ । सभामुख र उपसभामुखमध्ये एक पद त्याग गर्नुपर्ने भएपछि नेकपाले उपसभामुखलाई राजीनामा गराएर सभामुख आफूले राख्ने गरी नयाँ सभामुखका लागि छलफल अघि सारेको हो ।

सभामुख पदमा अब को आउला भन्ने अड्कलबाजी भइरहेको समयमा सोमबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा समेत सभामुखको विषयले प्रवेश पाएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको विषयमा समीक्षा भएको थियो । त्यसक्रममा सभामुखबारे समेत छलफल भएको स्रोतले जानकारी दिएको छ ।

सत्तारूढ नेकपाभित्र सभामुख पदमा चयन हुन ठूलो कसरत सुरु भएको छ । अध्यक्षद्वय ओली र दाहालको सहमति नभई सभामुखको उम्मेदवार चयन हुन असम्भव जस्तै छ । तर, यसमा प्रधानमन्त्री ओलीको ‘च्वाइस’ नै अन्तिम हुने नेकपाका एक केन्द्रीय सदस्य बताउँछन् । प्रधानमन्त्री ओलीको विश्वासपात्र मानिने नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ सभामुखका बलियो दाबेदार हुन् । उनलाई नै सभामुख बनाउने विषयमा नेकपाभित्र छलफल भएको छ । पार्टीभित्रको शक्ति बाँडफाँटको हिसाबले तत्कालीन माओवादी केन्द्रले नै सभामुख पाउनुपर्ने तत्कालीन माओवादी केन्द्र पक्षधर नेताहरूले दाबी गरिरहेका छन् ।