२६ वर्ष सेवा गरेँ, भाइको घरमा सामान राख्छु त्यसपछि कहाँ जान्छु थाहा छैन

काठमाडौं। २६ वर्ष सेवाअवधि पूरा गरेर डा. गोविन्द केसीले सोमबारबाट अवकास लिएका छन् । उनले अवकास लिएकै दिनमा पत्रकार सम्मेलन गरेर ६ बुँदे मागहरु अघि सारेका छन् । उनले आफ्ना माग पूरा नभए कात्तिक १३ गतेदेखि १७ औं पटकको सत्याग्रह थाल्ने बताएका छन् । उनै केसीले सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरेको पत्रकार सम्मेलनका क्रममा पत्रकारहरुसँग केही औपचारिक र अनौपचारिक कुराकानी गरे ।

प्रस्तुत छ, डा. केसीले पत्रकारहरुसँग गरेको कुराकानीको सम्पादित अंशः

सधैं चिकित्सा शिक्षाका विषयमा मात्रै कुराकानी हुन्थ्यो, प्रश्न पनि त्यस्तै सोध्थ्यौं, तर आज जिवनका अन्य विषयमा पनि सोध्छौं, अब के गर्नुहुन्छ ?

मेरो जिवन भनेको खाली किताब हो । मेरो निजी जिवन भन्ने नै छैन ।

म मेरो डाक्टर पेसालाई निरन्तरता दिन्छु । मैलै अहिलेसम्म केही दिन सकेको छैन तर मैले काम गरेको संस्था त्रिवि शिक्षण अस्पताल, समाजबाट केही पाएको छु, त्यसका लागि सम्पूर्णमा आभारी छु ।

तपाईंले गर्नुभएको सत्याग्रहबाट मेडिकल क्षेत्रमा धेरै सुधारकाका कामहरु भएका छन् । तर पनि केही दिन सकिएन भन्दै हुनुहुन्छ किन ?

मलाई आफुले चिकित्सा शिक्षा सुधारका लागि राखेको माग पूरा नभएर भन्दा पनि, खै मलाई त्यस्तो केही नगरेजस्तो महसुस हुन्छ । वास्तवमा अझै पनि धेरै काम गर्न बाँकी छ एक चिकित्सकका रुपमा, एक शिक्षकको हैसियतले र एक नेपाली नागरिकको रुपमा । आजबाट ६३ वर्ष पूरा भएर ६४ वर्षमा प्रवेश गरेको छु ।
अहिलेसम्म कुनै पनि काम गर्न सकेको छैन जस्तो लाग्छ । जति दिन बाँच्छु, सेवाकै लागि कोशिस गर्छु ।

तपाईंले आफ्नो माग पूरा गर्न कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिनुभएको छ । माग पूरा नभए १७ औँ सत्याग्रहसहितको आन्दोलन कात्तिक १३ गते देशका जुनसुकै कुनामा भन्नुभएको छ । कहाँ पुगेर सुरु गर्नुहुन्छ ?

म जहाँ गए पनि पत्रकार साथीहरु भइहाल्नु हुन्छ । किन आएको भनेर सोध्नुहुन्छ मैलै भनि हाल्नुपर्छ । तपाईँहरुले पनि जानकारी पाउनुहुनेछ ।

तपाईंलाई सानो हुँदा डाक्टर नै बन्छु भन्ने लागेको थियो ?

म स्कुल पढ्दा डाक्टर बन्छु भनेर सोचेको थिइन । मैलै पढ्नुपर्छ भन्ने मात्र लाग्थ्यो ।

अहिलेसम्म तपाईंले सेवा गरे पनि सम्पत्ति केही छैन भन्नुहुन्छ । अब कसरी अघि बढ्नुहुन्छ त ?

म आफ्नो पेसालाई निरन्तरता दिन्छु नै त्यसबाहेक के गर्छु भनेर अहिले निर्णय लिएको छैन ।

जहाँ कुनै कुराको अन्त्य हुन्छ, त्यहिँबाट नयाँ कुराको सुरु पनि हुन्छ भन्छन् नि !

लामो हासो …., मान्छेहरु भन्छन् तर म मा त्यो लागु भएन । म अवकास भए पनि म डाक्टर हुँ । म आफ्नो पेसालाई निरन्तरता दिन्छु यही नै मेरो सौभाग्य हो जस्तो लाग्छ ।

चिकित्सक हुँदै गर्दा यो क्षेत्र सुधारका लागि सरकारसँग यसरी लड्छु जस्तो लागेको थियो कि थिएन ?

मैलै सोचेको थिइन । तर एक हेल्थ प्रोफेसर चाहिँ बन्छु भन्ने थियो । देशका अति दुर्गम जुन कम गएको पनि तीनपटकसम्म पुगेको छु । मैले चिकित्सा सेवा सुरु गरेको करिब ३० देखि ३५ वर्षको अन्तरालमा धेरै कुरा देखेँ । गाउँमा के छ र सहरमा के छ । गाउँँको आर्थिक, स्वास्थ्य र शिक्षाको अवस्थाको बारेमा नजिकबाट नियाल्न पाएँ । विकसित देशदेखि लिएर कम विकसित देशमा गएर अध्ययन र तालिमहरु लिएको छु । त्यहाँको स्वास्थ्य र शिक्षा सेवा र हाम्रो देशको स्वास्थ्य र शिक्षा के छ त्यो देख्दा मन साह्रै रुन्छ, त्यसले गर्दा पनि म लडेको हुँ ।

आजदेखि अवकास लिँदै हुनुहुन्छ । आवास गृह छाडेपछि कहाँ बस्नुहुन्छ ?

अब भाइको घरमा सामान राख्छु । त्यसपछि कहाँ जान्छु थाहा छैन ।

बिहे गर्नुभएको छैन । गरेको भए आफ्नो परिवार हुन्थ्यो भन्ने लाग्दैन ?

हासो… । अहिले म ६४ वर्षको भए यदि मेरो विहे भएको भए नातीको बिहे गर्ने बेला हुन्थ्यो होला । मैलै बिहेको विषयलाई कहिलै गम्भीर रुपमा लिइन । अब म झनै स्वतन्त्र भएँ ।

तपाईंको प्रेरणाको स्रोत कोही हुनुहुन्थ्यो ?

मेरो प्रेरणाको स्रोत त्यस्तो कोही छैनन् । मभन्दा वरिष्ठ चिकित्सकहरु र युवा पुस्ताका चिकित्सकहरु मेरो लागि आदर्श व्यक्ति हो । सबै मानिसहरुबाट पाठ सिकिन्छ, प्रेरणा लिन पनि सकिन्छ ।