यो वर्षको तिहारमा भारतवाट फूल नआउने, फूलमा आत्मनिर्भर बन्दै

काठमाडौं। विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार पर्व परेकाले आयात गरिने फूलको सङख्यामा कमी आउने भएको हो । गत वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको थियो ।

यस वर्षको तिहारका लागि कति फूल ल्याउने भन्ने विषय यकिन नभए पनि खपत हुने फूलको बढीमा सात प्रतिशत मात्रै फूल ल्याइने फ्लोरीकल्चर एशोसिएशनले जनाएको छ । गत वर्ष १७ लाख माला खपत भएको थियो । सोमध्ये २० प्रतिशत भारतबाट ल्याइएको हो भने बाँकी स्वदेशी उत्पादन हो । तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउनुपर्ने अवस्था छ । यस वर्ष पनि गत वर्षकै हाराहारीमा फूलको माला खपत हुने एशोसिएशनको अनुमान छ ।

व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेकाले हरेक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिनुभयो । फूल उत्पादनको वृद्धिसँगै उपभोक्ताको माग पनि बढेको छ । यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि ७० सम्म बढी तिर्नुपर्ने देखिन्छ ।

स्वदेश र विदेशमा गरी वार्षिकरूपमा रु एक अर्ब ८५ करोडको फूलको कारोवार हुँदा तिहारमा मात्रै रु एक करोड फूलको कारोवार हुन्छ । तिहार आउनुभन्दा एक साता अघिबाट मात्रै आयातित फूल ल्याउन शुरु गरिन्छ ।