
काठमाडौं। मैले राजधानीको दरबारमार्गमा पाँचवर्ष अगाडिदेखि भिक्ट्री रेष्टुरेन्ट सुरु गरे। मैले यसलाई चलाउन धेरै मेहनत गरेँ। पसिना बगाएँ।
मेरो जीवनको उर्जाशील समय यसमैमा लगाएँ। संयोगबस मेरो रेस्टरेन्ट राम्रै चल्यो। यहाँबाट केही कमाए पनि। रेस्टुरेन्ट सञ्चालन गरेको पाँच वर्षपछि मेरो मनमा यसैलाई ठूलो बनाउनुपर्यो भन्ने सोच पलायो। पछिल्लो ६ महिनायता यसलाई अत्याधुनिक लाउन्ज बनाउने काममा लागे।
मैले यो बितेको ६ महिनामा मात्र करिब आठ करोड ५० लाख लगानी थपेर यसको डेकोरेसन तथा अत्याधुनिक सामानहरू जोड्ने काममा लागेको थिएँ। मैले भर्खरमात्र फर्निचर तथा फर्निसिङको काम सकेको थिएँ। अत्याधुनिक साउण्ड र लाइट सिस्टम जोड्ने काम हुदैँ थियो।
मेरो लाउन्जमा आइतबार साँझ ६ः३० बजेतिर एक्कासी विद्युत सर्ड भएर आगो सुरु भयो। सुरुमा आगो सानो थियो। मेरै लाउन्जमा काम गर्ने ४/५ जना स्टाफहरुले आफैं लागेर आगो निभाउन थाले। करिब १० मिनेटको प्रयासपछि आगो नियन्त्रण भएको जस्तो लाग्यो।
हामीले ढुक्कको सास फेरेर बसेका थियौं। तर फेरि एक्कासी ठूलो आगोको मुस्लो निस्कियो। त्यसपछि आगो हामीले मात्र नियन्त्रण गर्नसक्ने अवस्था रहेन।
हामीले प्रहरीलाई खबर गर्यौं। सुरक्षाकर्मी र अग्नि नियन्त्रकहरुले आगो नियन्त्रणमा लिएपनि मैले लगानी गरेको आठ करोड ५० लाख रुपैयाँ र मेरो पाँच वर्षको मेहनत निमेषभरमै आँखै अगाडी आगोले स्वाहा बनायो।
मैलै एउटा सुन्दर सपना देखेको थिए, ‘राजधानीमा एउटा अत्याधुनिक लाउन्ज बनाउछुँ।’ त्यही भएर मैले मेरो सम्पत्ति र उर्जाशील समय बेपर्वाह लगानी गरिरहेको थिए। तर एउटा सानो आगोको झिल्कोले निमेषभरमै सबै स्वाहा बनायो। आगोले मेरो आर्थिक र समयको लगानी मात्र होइन, मेरो सपना पनि जलायो।
अब अहिले नै म अरु धेरै बोल्नसक्ने अवस्थामा छैन।
अब बाँकी के हुन्छ समयको जिम्मामा…….
प्रस्तुति : भक्त राई/अशोक अधिकारी/नेपालन्युज