शीसँगको भेटमा देउवाले सम्झिए चिनियाँ पुर्व राष्ट्रपति

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) र कांग्रेसको लामो समयदेखि सम्बन्ध रहेको बताएका छन् ।

दुई दिनका लागि नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति शी चिनफिङसँग शनिवार देउवाले वान टु वान वार्ता गरेका थिए ।

भेटपछि सामाजिक सञ्जाल ट्वीटरमा आफूहरूले नेपाल चीनबीचको पुरानो सम्बन्धका बारेमा छलफल गरेको बताए ।

देउवाले यसभन्दा अघि आफू पहिलोपटक प्रधानमन्त्री भएको बेलामा चिनियाँ राष्ट्रपति जियाङ जेमिन आएको स्मरण गर्दै भने, ‘म पहिलोपटक प्रधानमन्त्री हुँदा राष्ट्रपति जियाङ जेमिनले गर्नुभएको नेपाल भ्रमणको स्मरण ताजा भएको छ ।’

देउवाले नेपाल-चीन बीचको सम्बन्ध अझ नयाँ उचाईमा पुग्ने आशा गरे । ‘व्यापार, उर्जा र पूर्वाधारको क्षेत्रमा दुवै देशलाई आपसी सहकार्यमार्फत अझ बढी फाइदा पुग्नेछ भन्ने मैले आशा गरेको छु,’ देउवाले भने ।