राष्ट्रपति सी जिनपिङको स्वागत गर्दै सर्वसाधारणले भने, ‘अर्को दसैँ आएजस्तो भयो’ (भिडियो)

काठमाडौँ। नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा रहेका चिनियाँ राष्ट्रपति सि जिनपिङलाई काठमाडौँका सडक किनारमा बसेका सर्वसाधारण तथा सरकारी कर्मचारीले स्वागत गरेका छन्।

त्रिभुवन विमानस्थलदेखि कालीमाटीको सोल्टी होटलसम्मका सडक किनारमा कर्मचारी तथा सर्वसाधारणले नेपालको झण्डा र चीनको झण्डा लिएर राष्ट्रपति सीको सम्मान गरेका हुन् । उनीहरुले निकै लामो समयपछि चीनबाट भएको उच्चस्तरीय भ्रमणको प्रशंसा गर्दै दसैँ लगतै अर्को ठूलो चाड आएको प्रतिक्रिया दिएका छन् ।

काठमाडौँको माइतिघर मण्डला सडक किनारमा भेटिएका हरि ढुङ्गानाले चिनियाँ राष्ट्रपतिको भ्रमणले एउटा ठूलो चाड दसैँ सकिएपनि अर्को ठूलो चाड आएको रुपमा आफूले लिएको प्रतिक्रिया दिए । उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबाट नेपालीले लाभ हासिल गर्नुपर्ने उल्लेख गरे । चीन संसारको सबैभन्दा शक्तिशाली देशको रुपमा अघि बढेको छिमेकी देश भएको नाताले चीनबाट नेपालले धेरै कुरा सिक्न र लाभ हासिल गर्न सक्ने उनले बताए ।

यस्तै अर्का सर्वसाधारण हरिसुन्दर भुजेलले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई आफूले सकारात्मक रुपमा लिएको बताउँदै नेपालले चीनसँग जतिपनि सम्झौतामा हस्ताक्षर गर्दैछ त्यो नेपालको हीतमा होस् भन्ने कामना गरे । उनले बीआरआई जस्ता परियोजनालाई दृढतापूर्वक कार्यान्वयनमा सहयोग होस् भन्ने अपेक्षा गरे ।

यस्तै हरि केसीले विकासोन्मुख मुलुकमा चीनका राष्ट्रपतिको भ्रमण उपलब्धीमूलक भएको बताए । यता अर्का सर्वसाधारण नरदेव न्यौपानेले नेपाल दुई ठूला देशको बीचमा रहेकोले दुबैतर्फ समान रुपमा कुटनीतिक सम्बन्ध राख्नुपर्ने बताए । उनले देशको राष्ट्रियतामा खलल नपर्नेगरी शक्तिशाली देशसँग विकास र पर्यटन विकासका लागि सम्बन्ध स्थापित गर्नुपर्ने बताए ।

हेर्नुहोस् भिडियो :