राष्ट्रपतिका तस्वीर कसले टाँस्यो यस्ताे लापरबाही गर्दै ?

काठमाडौं। आज भारत हुँदै नेपाल भ्रमणमा आउन लागेका चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा सडकहरु चिटिक्क पारिएका छन् । ठाउँठाउँमा ब्यानर र स्वागतद्वार अनि आकर्षक नारा ।

अनि मूल सडकका दायाँबायाँ खम्बाहरुमा नेपाल र चीनका राष्ट्रपतिको तस्वीर क्रमैसँग टाँगिएका छन् । तर कतिपय ठाउँमा निकै लापरबाहीपूर्वक यस्ता तस्वीर टाँसिएको देखियो।

राष्ट्पति कार्यालयको गेटै अघिल्ति हर्ननिषेधको संकेत बोर्डले राष्ट्रपति विद्यादेवी भण्डारीको पूरै अनुहार छोपिने गरी टाँगिएको छ । अलि माथि सारेर प्रस्ट देखिनेगरी मिलाएर टाँग्न सकिन्थ्यो।

अन्य विभिन्न ठाउँमा पनि यसैगरी लापरबाहीपूर्वक अनुहारै छाेपिने गरी र कुरूप बिजुलीका लट्टामुनि टाँगिएका तस्वीरहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन् ।