चीन सीमामा अमेरिकी तोप तैनाथ गर्दै भारत

एजेन्सी। भारतको अरुणाचल प्रदेशमा चीनसँगको वास्तविक नियन्त्रण रेखामा भारतले तोपखानाको शक्ति बढाइरहेको छ ।

अमेरिकासँग खरिद गरिएको एम७७७ अल्ट्रालाइट होवित्जर तोप सीमामा तैनाथ गर्न लागिएको हो । भारतले अहिले अमेरिकासँग १४५ वटा एम७७७ तोप किन्न लागेको छ । भारतीय सेनाले लद्दाखको उत्तरी सेक्टर र अरुणाचल प्रदेशको पूर्वी सेक्टरमा यी तोप तैनाथ गर्न लागेको हो ।

अरुणाचलमा तैनाथ आर्टिलरी रेजिमेन्ट्सलाई एम७७७ चलाउने तालिम दिइएको अधिकारीहरूले बताएका छन् । एक अधिकारीले भने, ‘यी तोपहरूबाट सेनाको तागत धेरै बढ्नेछ । यिनीहरूलाई सन् २०१९ को अन्त्यसम्ममा तैनाथ गरिनेछ ।’ अरुणाचलमा तवाङ, कामेङ र वालोङ जस्ता क्षेत्रमा यस् तोप तैनाथ गर्न सकिनेछ ।

सीमामा तैनाथ अर्को महत्त्वपूर्ण तोप बोफोर्सलाई सडकको बाटो भएर तैनाथी स्थलसम्म लग्नुपरेको छ । विगत केही वर्षयता सेनालाई अरुणाचल प्रदेशमा वास्तविक नियन्त्रण रेखामा बोफोर्स तोपहरूको लैजान ल्याउन मुश्किल परिरहेको छ किनकि सडकहरू चौडा छैनन् । यसबाट पार पाउन तोपलाई भेहिकलबाट अलग्याएर लगिन्छ ।

बोफोर्स तोप र त्यसको भेहिकलको भार लगभग ४० टन हुन्छ। सेनाले मारक क्षमताको तोपलाई प्राथमिकता दिइरहेको छ ।

त्यसबाहेक हतियार पत्ता लगाउने राडार स्वाति पनि भारतीय सेनाले विकसित गरेको छ । चीनको क्षेत्रबाट हुने तोप प्रहारलाई समयमै पत्ता लगाउन यसबाट सहायता पुग्नेछ ।