राजेन्द्रको राजपा सिध्याउन उपेन्द्र र बाबुरामको समाजवादी सक्रिय

काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) लाई बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा विलय गराउने प्रयासमा राजपाकै केही नेताहरू लागिपरेको समाचार घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार नेताहरू राजेन्द्र महतो र शरत्सिंह भण्डारी राजपालाई समाजवादी पार्टीमा मिसाउन विभिन्न किसिमबाट सक्रिय भएका छन्।

पार्टी अध्यक्ष राजकिशोर यादव, सर्वोच्च नेता महन्थ ठाकुर र अर्का नेता अनिल झा राजपाको इतिहास र भविष्य मेट्न नहुने अडानमा रहेका छन् । यी तीन नेताको अडानकै कारण अहिलेसम्म राजपा जोगिएको छ । अर्का राजपा नेता महेन्द्र यादवलाई उपेन्द्र यादवले आफूतिर आउन ‘रेड कार्पेट’ बिछ्याइसकेको बताइन्छ । पार्टी विलय नभए पनि महेन्द्र यादव एक्लैलाई आफ्नो समूहमा भित्र्याउन उपेन्द्रले कोसिस गरिरहेको बुझिएको छ।

यसरी पार्टी सिध्याउनेतिर तीन र बचाउनेतिर तीन नेता भएकोले अब राजपा विभाजित हुने त होइन भन्ने आशङ्का उत्पन्न भएको छ । आठ सय पचासजनाको केन्द्रीय समितिमा महतोको टोलीले चालीस प्रतिशत सङ्ख्या पुऱ्याउन सक्ने स्थिति अहिलेसम्म देखिएको छैन । संसदीय दलका अठार सदस्यमध्ये बढीमा पाँचजना मात्र महतोकोे पक्षमा रहेकोले दलमा पनि चालीस प्रतिशत सङ्ख्या पुग्ने देखिँदैन । उपेन्द्र यादवले राजेन्द्र महतोलाई भविष्यमा अर्थमन्त्री बनाइदिने आश्वासनसहित समाजवादी पार्टीमा भित्र्याउन लागेको बताइएको छ।