नेकपाबाट यी चारमध्ये कोहि एक सभामुख बन्ने सम्भावना

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पद नछाड्ने निर्णय गरेको छ । बिहिबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पद जोगाउने खेलमा नेकपा लागेको हो । यौन दुर्व्यवहार–दूराचारको आरोप लागेपछि महरालाई नेकपा सचिवालयले सभामुख र संसद् सदस्य दुवै पदबाट राजीनामा दिन सुझाएको थियो । यो संगै नेकपाबाट सभामुखमा पूर्व उपप्रधानमन्त्री समेत रहेका टोपबहादुर रायमाझी, पूर्व सभामुख ओनसरी घर्ती र अग्नि सापकोटाको चर्चा यतिबेला चुलिएको छ ।

नेपालको संविधानको धारा–९१ मा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने प्रावधान रहेको छ । प्रतिनिधिसभामा अहिले सभामुख र उपसभामुख एउटै पार्टीको भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्दै आएको छ । र, यो मुद्दा अदालतमा विचाराधीन रहेको छ ।

तर, नेकपाले उमेदवार भई निर्वाचित हुँदाका बखत फरकफरक पार्टीको रहेको र सम्बन्धित पदमा चुनिइसकेपछि दलको सदस्य नरहेकाले एउटै पार्टीको भन्न नमिल्ने जिकिर गर्दै आइरहेको थियो ।

रिक्त सभामुख पदमा उमेदवारी दिन नेकपालाई संवैधानिक अड्चन छ । यसर्थ उपसभामुख तुम्बाहाम्फेलाई समेत राजीनामा गराएर सभामुख आफैँसँग राख्ने तयारी रहेको नेकपाका एक नेताले जानकारी दिए । उपसभामुख भने सत्तामै रहेको समाजवादी पार्टी, नेपाल नभए राष्ट्रिय जनता पार्टीलाई दिने सम्भावना रहेको स्रोत बताउँछ ।

उनले उपसभामुखको राजीनामामा कुनै द्विविधा पाल्नुनपर्ने जिकिर गरे । नेकपावृत्तमा सभामुख पद रिक्त भएसँगै नयाँ सभामुखको चर्चा पनि चुलिएको छ । पार्टी एकीकरणपूर्ण सभामुख माओवादी केन्द्रले पाएकाले अहिले पनि पूर्वमाओवादी केन्द्रले नै दाबी गरिरहेको छ ।

पूर्वसभामुख ओनसरी घर्ती, टोपबहादुर रायमाझी र अग्नि सापकोटालाई बनाउनु पर्ने मत रहेको छ । पूर्वएमालेले राख्ने सहमति भएमा सुवास नेम्वाङ नै बन्ने सम्भावना पनि रहेको स्रोत बताउँछ । नेम्वाङ यसअघि पाँचपटक सभामुख बनिसकेका छन् ।