सभामुख पद नयाँ अनुहारलाई दिनुपर्छ – युवा संघका संयोजक दिपशिखा

काठमाडौं । कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएसँगै नेकपाभित्र सभामुख पद कसलाई दिने भन्नेबारे बहस चुलिएको छ । नेकपाभित्र सभामुख पदबारे चुलिएको बसहमा युवाका नेताले पुरानालाई छोडी नयाँलाई अवसर दिनपर्ने माग गरेका छन् ।

नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघका इन्चार्ज तथा संयोजक रामप्रसाद सापकोटा दिपशिखाले सभामुख पद नयाँ अनुहार र युवा पंक्तिलाई दिनुपर्ने माग गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपाका केन्द्रिय सदस्यसमेत रहेका नेता सापकोटाले सभामुख पदमा पुराना अनुहारभन्दा नयाँलाई अवसर दिनुपर्ने माग गरेका हुन् ।

दिपशिखाले मेरो निजि विचार भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘मेरो नीजि विचारमा रिक्त हुन आएको सभामुख पदमा पुराना अनुहारभन्दा पनि नयाँलाई अवसर प्रदान गर्नुपर्दछ।’

सत्तारुढ नेकपाभित्र कृष्णबहादर महराले सभामुख पदबाट राजीनामा दिएसँगै पुराना तथा केहि नयाँ अनुहारबारे पनि चर्चा चलेको छ । सभामुख पदको लागि पूर्वसभामुखसमेत रहेका सुवासचन्द्र नेमाङ्ग र ओनसरी घर्तीबारे पनि चर्चा चलेको छ ।

सभामुख पदमा नेकपाका प्रमुख सचेतकसमेत रहेका नेता देव गुरुङ्ग, अग्नी सापकोटा र पम्फा भुसाललगायतका नेताहरुको पनि चर्चा छ ।

सभामुख पद पार्टी एकतापछि पूर्वमाओवादीलाई प्राप्त भएको सबैभन्दा माथिल्लो कार्यकारी पद भएको कारण पनि नेकपाभित्र पूर्वमाओवादीले उक्त पद पाउनुपर्ने चर्चा छ । सामाजिक सञ्जालमा पनि नेकपाका कतिपय नेताहरुले पूर्वमाओवादीका नेतालाई नै सभामुख पद दिनुपर्ने अभिव्यक्ति दिएका छन् ।

स्मरणरहोस्, संवैधानिक व्यवस्थामा सभामुख र उपसभामुख मध्ये एउटा पद सत्तापक्षले छोड्नुपर्ने नियम छ । नेकपा स्रोतले बताएअनुसार संवैधानिक वाध्यताका कारण पनि महराको राजीनामासँगै नेकपाभित्र उपसभामुखलाई राजीनामा दिन लगाएर सभामुख पद लिनुपर्ने बहस चलेको छ ।