दशैंको मुखमा भोलिदेखि ३ दिनसम्म बन्द !

काठमाडौं। नेपालीहरूको महान् पर्व विजयादशमीको चहलपहल बढिरहेको र भारतमा मजदुरी गर्ने नेपाली स्वदेश फर्किरहेको बेला भारतसँग सीमा जोडिएका बैतडी र दार्चुलाका सबै नाका भोलिदेखि तीन दिनका लागि बन्द हुने भएका छन् असोज १८ गते सिमावर्ति भारतीय जिल्ला झुलाघाटमा हुने जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गर्दै असोज १६–१८ गतेसम्म तीन दिन सीमा नाका बन्द हुने भएका छन् ।

बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले असोज १६ गते साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिनका लागि अन्तर्राष्ट्रिय सीमा झुलाघाट (पुल) बन्द हुने बताए ।सुदूरपश्चिमका पहाडी जिल्लाका नागरिक भारतबाट स्वदेश फर्किने प्रमुख नाका झुलाघाट समेत हो । दशैंका बेला सीमा नाका बन्द हुने भएपछि घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ ।

निर्वाचनको दोस्रो चरणअन्तर्गत दार्चुलाको सीमापारी रहेको धार्चुलामा पनि निर्वाचन हुने भएकाले असोज २७ गते साँझ ५ बजेदेखि असोज २९ गते साँझ ५ बजेसम्म धार्चुला नाका समेत बन्द हुने स्थानीय प्रशासनले जनाएको छ ।कुनै अत्यावश्यक अवस्थामा आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा दुवै देशका स्थानीय प्रशासनबीच आपसी समझदारीमा पुल खोल्न सकिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।