एक वर्षमा प्राकृतिक विपद्बाट ५०४ जनाको मृ’त्यु, दुई अर्ब ६१ करोडको क्षति

काठमाडौं । गएको एक वर्षमा विभिन्न प्रकारका प्राकृतिक विपद्मा परेर ५०४ को मृ’त्यु भएको छ । ०७८ वैशाख १ देखि चैत २९ सम्म विपद्का प्रमुख घटनामा उनीहरूको ज्यान गएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको रिपोर्टले यस्तो जानकारी दिएको हो ।

प्राधिकरणको रिपोर्टकाअनुसार एक वर्षमा ७६ जना बेपत्ता भएका छन् । विशेषगरी प्राधिकरणले १५ शीर्षकमा दुघर्टनाका रिपोर्ट सार्वजनिक गरी घटनाबारे जानकारी दिएको हो । जसमा पहिरो, बाढी, भारी वर्षा, चट्याङ्ग, सर्पदंश, आगलागी, जंगल आगलागी, हावाहुरी, जनावर आतंक, महामारी, हिउँ हुरी, हिम

पहिरो, लेक लाग्नु, डुंगा पल्टेर र भूकम्प रहेका छन् । यी शीर्षकमा ३ हजार ८९६ घटना घटेका छन् । यसैगरी, १ हजार ७७७ मानिस यी दुघर्टनामा परी घाइते भएका छन् भने यी घटनाहरूबाट ६ हजार १२९ परिवार प्रभावित भएका छन् । यसवर्ष सबैभन्दा धेरै आगलागीका घटना भएका छन् ।

जसमा २ हजार ३६३ घटना घटेको तथ्यांक छ । सबैभन्दा बढी परिवार २ हजार ८४० पनि आगलागीकै घटनाबाट प्रभावित भएका छन् । भूकम्प र महामारी शीषर्कमा दुई/दुई वटा घटना घटेका छन् भने मृत्यु हुनेमा सबैभन्दा बढी पहिरो रहेको छ । पहिरोका ३४४ घटनामा १८२ जनाको ज्यान गएको छ ।

यी सबै प्राकृतिक विपतबाट २ अर्ब ६१ करोड भन्दा बढीको क्षतिको अनुमान गरिएको छ । नेपाल वर्षको १२ महिना नै रोगव्याधिदेखि प्राकृतिक विपत्तिको जोखिममा रहेकाले विपद् अघिको पूर्व तयारीमा लाग्नुपर्ने प्राधिकरणका सीईओ अनिल पोखरेलले बताए ।

उनले प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न प्राधिकरणले पूर्व तयारी, विपद्को सामना र विपदपछिको व्यवस्थापनमा रणनीतिक रूपमा अघि बढेको जानकारी दिए ।