‘शेरबहादुर जी चुनाव रोक्ने षड्यन्त्रमा लागिसक्नुभयो’- ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनाव सार्ने षड्यन्त्र भइरहेको बताएका छन् । ललितपुरमा आयोजित एमालेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रतिगामी तत्वहरु चुनाव सारेर लोकतन्त्र समाप्त पार्ने खेलमा लागिपरेको बताए।

‘शेरबहादुर जी चुनाव रोक्ने षड्यन्त्रमा लागिसक्नुभयो । माधव, प्रचण्ड पनि विप्लवलाई पार्टी दर्ता गर्ने नाममा चुनाव सार्ने षड्यन्त्रमा लागेका छन्,’उनले भने। उनले पाँच दलीय गठबन्धनको कुनै एजेण्डा नभएको बताए । ‘यो सरकारले एउटा सिन्को पनि भाँचेको छैन ।

चुँडिएको झोलुगेंपुल जस्ताको त्यस्तै छ । भत्किएको बाटो बनाएको छैन,’ उनले भने,’ यो सरकारले केहि गर्नै सक्दैन । सक्छ भने केहि त गरोस् ।’ अध्यक्ष ओलीले परमादेशी देउवा सरकार कमीसनखोरी र भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाए। ओलीले भने, ‘यो हुतिहारा सरकार, सुन्नुभयो नि ४० करोडको काण्ड ।

त्यहाँ पनि हिस्साधारी, भागबण्डा । अर्थमन्त्रीले सोझैपत्र लेखेर गैरकानुनी पैंसा फिर्ता दिनु भनेछन् । अनि गभर्नरलाई कारबाही । यो सरकार कमीसनखोरी र भ्रष्टाचारमा लिप्त छ । यस कारण विकासका निम्ती पैंसा छैन । योजनाहरु रद्ध गरेको गरै छ।’
पाँच दलीय गठबन्धन एउटै दल भएको बताउँदै उनले भ ने,’ यी पुच्छर भएपनि कांग्रेस नै हुन् ।

गैरकांग्रेस नेताले भनेछन् एमाले फोडेको पश्चाताप होइन आनन्द लागेको छ । निकै सहयोगी रहेछ कांग्रेस भनेछन् । ‘ उनले एमाले मात्रै देशको पार्टी भएको दावी गरे। उनले भने,’ देश विकास गर्ने पार्टी हो । सबैका हितमा काम गर्छ । विकासको लाभ सबै पार्टीका कार्यकर्ताले पाउँछन् ।’