जसपाका सुदूरपश्चिम अध्यक्ष चौधरी माओवादी केन्द्रमा प्रवेश

काठमाडौं । जनता समाजवाद पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । उनीसँगै केन्द्रीय सदस्य माया नेगी, गंगा चौधरी, करण शाहुलगायतका नेताहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

उनीहरूलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाडामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टलगायतका नेताहरूले पार्टीमा स्वागत गरे । चौधरी र नेगी बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी निर्माण गरेदेखि नै सो पार्टीमा आवद्ध थिए ।

उपेन्द्र यादव नेतृत्वको पार्टीसँग भट्टराईले एकता गरेपछि उनीहरू रुष्ट बनेका थिए । पछिल्लो समय पार्टीको विभाजनप्रति पनि उनीहरू सन्तुष्ट थिएनन् ।