रचना रिमाल मैदान प्रवेश गरेको विषयमा क्यानले सोध्यो स्पष्टीकरण

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेका थिए । ‘मैले सुरक्षा निकायसँग बुझ्दा टिकट काट्ने काउन्टर र गेटसँगै परेको रहेछ । हाम्रो पार्टनर (सुन्बी होल्डिङ) ले त्यहाँसँगै नराख भनेको रहेछ ।

अलि तल राखभन्दा त्यहि राखेको रहेछ । त्यहीँ प्रेसर पर्‍याे । त्यो मौका पाउँदा हुल नै भित्र छिर्‍यो,’ क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले भने, हामीले यसबारे सुन्बी होल्डिङसँग स्पष्टीकरणसोधेका छौ ।’ यसअघि क्यानले प्रतियोगिताको मर्सियल राइट सुन्बी होल्डिङलाई दिएको थियो ।

सुन्बी होल्डिङले टिकटको लागि आईएमी-पे र सुरक्षाको लागि केटीएमलाई जिम्मा दिएको थियो । खेल सकिएपछिसमेत दर्शक दीर्घाबाट मैदान प्रवेश भएपछि क्यानले सुन्बीलाई स्पष्टीकरण सोधेको हो । क्यानले पुरस्कार वितरणका लागि प्रमुख अतिथिमा अर्थमन्त्री जनार्दन शर्मालाई आमन्त्रण गरेको थियो ।

पुरस्कार वितरण समारोहमा गायिका रचना रिमाल र दर्शक नै मैदान प्रवेश गरी ट्रफीसहित फोटो सामाजिक सञ्जालमा राखिएको भेटेपछि क्यानले स्पष्टीकरण सोधेकाे हो । दर्शकदीर्घाबाट खेल हेर्न प्रवेश गरेकी गायिका रचना रिमाल पुरस्कार वितरण समारोहमा भने मैदान प्रवेश गर्दै कप्तान सन्दीप लामिछानेलगायत खेलाडीसँग

फोटो खिच्न भ्याएकी थिइन् । उनले आफ्नो सामाजिक सञ्जालमा भिडियो र फोटोसमेत ‘पोष्ट’ गरेकी छिन् । ‘सुरुमा सहयोगी होलान् भन्ने सोच्यो । फेसबुकमा पनि ट्रफी समातेर फोटो राखेको देख्यौं । यो के कारणले भयो ? कसरी भयो ? भनेर हामीले स्पष्टीकरण सोधका छौं, ’ मल्लले भने ।

मलेसिया, नेपाल र पीएजी सम्मिलित टी-२० शृंखलाको फाइनल खेलमा पीएनजीलाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको थियो । जुन सन्दीपको कप्तानीमा नेपालले प्राप्त गरेको पहिलो उपाधि बन्यो ।