‘विश्वमै कम्युनिष्ट पार्टीभित्र भिलेन जन्मिन्छन्, लड्दै जाने हो’

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैकल्पिक सरकार गठन हुने वित्तिकै कोरोनाभाइरसविरुद्धको खोपलाई प्राथमिकता दिइने बताएका छन्।

बुधबार संसद भवनमा नागरिक आन्दोलनका अगुवा, लेखक तथा बुद्धिजीवीहरूसँग अन्तक्रियामा बोल्दै प्रचण्डले सो कुरा बताएका हुन्। प्रधानमन्त्रीको लागि गठबन्धनले काँग्रेस सभापति शेरबहादुर देउवालाई अघि सारेको बताउदै प्रचण्डले आउँदो दिनमा गठबन्धनलाई दिगो बनाउन छलफल भइरहेको बताए।

उनले संविधान, लोकतन्त्र र राष्ट्रियताको पक्षका आफूहरु उभिएको पनि बताए । उनले ओली तर्फ संकेत गर्दै भने – ‘संसारमा कुनै त्यस्तो कम्युनिष्ट पार्टी छैन जहाँ भिलेन नजन्मिएको होस्। भिलेन जन्मिन्छन् लड्दै जाने हो।’

उनले राष्ट्रियताको रक्षाका लागि एक हुनुको विकल्प नभएको पनि बताए। अहिलेको राजनीतिले सुशासन र प्रणालीका सन्दर्भमा युवा पुस्तामा नकरात्मक सन्देश गइरहेको भन्दै प्रचण्डले सकरात्मक नतिजा दिन नसकिएको बताए।