दिपक मनाङेको फेरि भाग्योदय, गण्डकी प्रदेशमा निर्णायक शक्ति तर सम्पर्कविहीन

गण्डकी प्रदेशको सत्तासंघर्ष रोचक मोडमा पुगेको छ । एकमात्र स्वतन्त्र सांसद निर्णायक बनेका छन् । उनी हुन् ग्याङस्टर हुँदै राजनीतिमा लागेर प्रदेशको मन्त्री बनेका दिपक मनाङे ।

कुनैबेला ग्याङस्टरका रुपमा कहलिएका मनाङे पटक पटक जेल समेत परेका थिए । काठमाडौंमा निकै परिचित मनाङेले मनाङ ख बाट प्रदेश सभाको चुनाव जितेर स्वतन्त्र सांसद बनेका थिए । एमालेमा सक्रिय उनको हैसियत भने स्वतन्त्र सांसदकै छ ।

गण्डकीमा मनाङे निर्णायक शक्ति बनेपछि दुईपटक मन्त्री भइसकेका छन् । उनी फेरि सत्ता परिवर्तन भएमा मन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । उनले गण्डकीमा हुने सत्ता राजनीतिमा समर्थन परिवर्तन गर्ने संकेत गरिसकेका छन् ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले आज विश्वासको मत लिन लागेका छन् । तर, उनले विश्वासको मत लिन नसक्ने निश्चितप्रायः भएको छ । कुल ६० जना प्रदेश सभा सांसद रहेको गण्डकीमा विश्वासको मत लिन ३१ मत चाहिन्छ । गुरुङले २८ या २९ मत मात्र प्राप्त गर्न सक्ने सम्भावना छ ।

नेकपा एमालेको २७, नेपाली काँग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, जसपाको २, राष्ट्रिय जनमोर्चाको ३ र स्वतन्त्र १ सांसद छन् । मुख्यमन्त्री गुरुङ्गले एमालेको २७, राजमोको १ र स्वतन्त्रको १ गरी २९ मत अधिकतम पाउने सम्भावना छ । उनले विश्वासको मत लिने माओवादी, काँग्रेस, जसपा या राजमोबाट फ्लोर क्रस हुनुपर्छ । राजमोबाट १ मत मात्र फ्लोर क्रस हुने देखिएको छ । त्यसकारण पनि गुरुङ्ग विश्वासको मत लिन असफल हुनेछन् ।

विश्वासको मत लिन असफल भए सविधान बमोजिम प्रदेश प्रमुखले बहुमतको सरकारको आव्हान गर्नेछिन् । त्यतिबेला काँग्रेसका कृष्णचन्द्र नेपालीले बहुमतको दाबी प्रस्तुत गर्ने तयारी भइसकेको छ ।

नेपालीले बहुमतको दाबी सिद्ध गर्न काँग्रेसका १५, माओवादी केन्द्रका ११, जसपाका २, राजमोका २ का अलावा स्वतन्त्र सांसद दिपक मनाङेको समर्थन आवश्यक हुन्छ । सभामुखले राजीनामा दिएर बढेमा पनि नेपालीको पक्षमा बहुमत पुग्छ । तर, मनाङेको साथ लिने प्रयास चलिसकेको छ । उनले साथ दिएमा नेपाली मुख्यमन्त्री बन्नेछन् । यसकारण पनि दिपक मनाङे गण्डकी प्रदेशमा निर्णायक शक्ति बनेका छन् ।