मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने दिन मनाङे सम्पर्कविहीन

काठमाडौं- गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिने दिनमा युवा तथा खेलकुद मन्त्री राजिव गुरुङ (दीपक मनाङे) सम्पर्कविहीन भएका छन्।

विपक्षी गठबन्धनको पक्षमा रहने बताएका मनाङे बुधबार रातिदेखि सम्पर्क विहीन भएका हुन्। मनाङेले प्रयोग गर्दै आइरहेका मोबाइल नम्बरहरुमा सम्पर्क हुन सकेको छैन। बिहीबार बस्ने प्रदेश सभामा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदैछन्।

गुरुङको पक्षमा संसद्मा बहुमत पुग्ने आधार छैन। मनाङे विपक्षी गठबन्धनको पक्षमा देखिँदा नयाँ सरकार बन्ने अवस्था निर्माण भएको छ। संविधानको १६८ (५) अनुसार बन्ने सरकारका लागि विपक्षी गठबन्धनलाई एक मत भए पुग्ने देखिएको छ।

३० सांसद रहेको विपक्षी गठबन्धनमा मनाङे थपिँदा बहुमत पुग्दछ।
वैशाख १६ मा मुख्यमन्त्री गुरुङले युवा तथा खेलकुद मन्त्रालय को जिम्मेवारी मनाङेलाई दिएका थिए। सत्ता टिकाउन मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालय टुक्राएर युवा तथा खेलकुद मन्त्रालय थपेका थिए।